काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले एसिया प्यासेफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी)लाई सम्पत्ति शुद्धीकरण निवारणका सन्दर्भमा नेपालले चालेका कदमबारे ब्रिफिङ गरेका छन् । मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा नेपाल भ्रमणमा रहेको एपीजी टोलीसँगको भेटमा उनले यसबारे जानकारी गराएका हुन् ।
भेटघाटको क्रममा उनीहरूबीच सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानीको सूची (ग्रे लिस्ट)मा नेपाललाई राखिएको अवस्थाबाट बाहिर निस्कन नेपालले प्रस्तुत गरेको कार्ययोजनाको सन्दर्भमा प्रमुख कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीको भूमिका, सम्पत्ति शुद्धीकरण निवारण प्रणालीमा अन्य सरोकारवाला निकायहरूसँगको प्रभावकारी समन्वयमा नेपाल प्रहरीले गरिरहेको काम कारबाहीको अवस्था, प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा आगामी कार्यदिशा सम्बन्धमा बृहत् छलफल भएको थियो ।