काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १३औं वार्षिक साधारणसभाले भगवती चौधरीलाई अध्यक्ष पदमा पुनः नियुक्त गरेको छ । संस्थाकी संस्थापक अध्यक्षसमेत रहेकी चौधरीलाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरिएको हो ।
ग्रामीण अर्थतन्त्र, महिला सशक्तिकरण, युवा सशक्तिकरण र स्वरोजगारका मुद्दाहरूलाई अगाडी बढाउँदै समाजसेवा तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरीलाई नेपाल राष्ट्र बैंकका निर्देशक शैलेन्द्र रेग्मीले पद तथा गोपनियताको सपथ गराएका थिए । सो अवसरमा चौधरीले लघुवित्तको मर्म, उद्देश्य र लक्ष्य प्राप्तिसँगै संस्थाको गरिमा वृद्धिमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाइन् ।
ग्रामीण महिला उत्सुकता विकास मञ्चमार्फत गाउँगाउँमा महिलाहरूलाई वातावरण, सरसफाइसँगै सामाजित चेतना प्रवाह गर्दै आएकी चौधरीले वित्तीय साक्षरता कार्यक्रम पनि चलाएकी थिइन् । तत्कालीन समयमा सरकारले गैरसरकारी संस्थाहरूलाई वित्तीय मध्यस्तकर्ता गर्ने बाटो खोलिदिएपछि चौधरीले नै फरवार्ड माइक्रोफाइनान्सको स्थापना गरेकी थिइन् ।
हाल फरवार्ड माइक्रोफाइनान्सका देशका ४० जिल्लाका तीन सय ८२ स्थानीय निकायका दुई लाख ८४ हजार ५७ विपन्न परिवारमा एक सय ५९ शाखा कार्यालयमार्फत वित्तीय सेवा पुर्याएको छ ।