काठमाडौं । भिभोले नेपालमा आफ्नो वाई सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन वाई ११ डि र वाई २१ फाईव जी सार्वजनिक गरेको छ । आधुनिक प्रयोगकर्ताहरूको परिवर्तनशील आवश्यकताहरू पूरा गर्न यी फोनको डिजाइन गरिएको कम्पनीको दाबी छ ।
दुवै स्मार्टफोनमा विशाल ६५०० एमएएच् ब्लूभोल्ट ब्याट्री समावेश गरिएको छ, जसले लामो समयसम्म भरपर्दो प्रयोग अनुभव प्रदान गर्नेछ । उच्च क्षमताको ब्याट्रीलाई थप प्रभावकारी बनाउन भिभोको ४४ वाट फ्ल्यासचार्ज प्रविधि प्रयोग गरिएको छ, जसमा २९ तहको सुरक्षा प्रणाली समावेश छ । यसले छिटो, सुरक्षित तथा प्रभावकारी चार्जिङ सुनिश्चित गर्दै प्रयोगकर्तालाई दिनभर सहज रूपमा कनेक्टेड राख्न मद्दत गर्छ । दुवै स्मार्टफोनको प्रमुख विशेषतामध्ये मजबुत टिकाउपन पनि एक साझा विशेषता हो । आई पी ६५ धुलो तथा पानी प्रतिरोध क्षमताले धुलो र पानीबाट सुरक्षा प्रदान गर्छ भने प्रोफेशनल एन्टी–ड्रप डिजाइनले दैनिक प्रयोगका क्रममा हुने सामान्य झट्का तथा खस्ने जोखिमबाट डिभाइसलाई सुरक्षित राख्छ । यी मजबुत विशेषतासँगै स्मार्टफोनमा आकर्षक तथा प्रिमियम डिजाइन पनि दिइएको छ, जसमा विशिष्ट सनराइज गोल्ड कलर विकल्प र डायनामिक लाइट एक्सेन्टसहितको प्रिमियम मेटल क्यामेरा मोड्युल समावेश गरिएको कम्पनीले जनाएको छ ।
दुवै स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट र १२०० निट्सको पीक ब्राइटनेस सहितको डिस्प्ले प्रदान गरिएको छ, यसले घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । मनोरञ्जन तथा उत्पादकत्वलाई थप सशक्त बनाउन २०० प्रतिशत भोल्युम बूस्ट र अधिकतम ६+६ जीबी एक्सटेन्डेड र्यामसम्मको सुविधा समावेश गरिएको छ । फोटोग्राफीका लागि ५० मेगापिक्सेल अल्ट्रा क्लियर मुख्य क्यामेरा समावेश गरिएको कम्पनीले जनाएको छ । भिभो वाई २१ फाइभजी ६÷१२८ जीबी भेरियन्टको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी भिभो वाई ११ डि दुई भेरियन्टमा उपलब्ध रहेको छ । यसको ४÷१२८ जीबीको मूल्य २१ हजार ४९९ रुपैयाँ र ६÷१२८ जीबीको मूल्य २६ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । यी दुवै स्मार्टफोनहरू नेपालभरका भिभो रिटेल स्टोरहरू र अनलाइन प्लेटफर्म दराजमार्फत खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।