सोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रमा विश्वस्तरीय प्रभाव राख्ने कम्पनी सामसुङ इलेक्ट्रोनिक्समा तलबसम्बन्धी वार्ता असफल भएपछि हडतालको सम्भावना तीव्र बनेको छ । व्यवस्थापन र युनियनबीच बुधबार अन्तिम चरणको वार्ता निष्कर्षविहीन रूपमा टुङ्गिएपछि देशको प्रमुख चिप तथा इलेक्ट्रोनिक्स उद्योगमा ठूलो अवरोध आउने चिन्ता बढेको छ ।
श्रमिक प्रतिनिधिहरूले कृत्रिम बौद्धिकता (एआई) मा आधारित विश्वव्यापी मागका कारण कम्पनीको नाफा उल्लेखनीय रूपमा बढे पनि कर्मचारीलाई उचित क्षतिपूर्ति नदिएको आरोप लगाएका छन् । लगभग ७४ हजार कामदारको प्रतिनिधित्व गर्ने युनियनले माग पूरा नभए बिहीबारदेखि १८ दिनसम्म हडताल सुरु गर्ने घोषणा गरेको छ ।
यसबीच सरकार पनि सक्रिय बनेको छ । अधिकारीहरूले सामसुङमा सम्झौता गराउन दुर्लभ रूपमा प्रयोग गरिने आपतकालीन अधिकार प्रयोग गर्ने चेतावनी दिएका छन् । सरकारको भनाइमा, सम्भावित हडतालले सेमिकन्डक्टर उत्पादनलाई प्रभावित पार्दै देशको निर्यात–निर्भर अर्थतन्त्रमा ठूलो असर पार्न सक्छ ।
वार्ताको पछिल्लो चरण पनि कुनै सहमति बिना समाप्त भएपछि युनियनका नेता चोई सुङ–होले पत्रकारहरूसँग हडताल अपरिहार्य भएको बताए । उनका अनुसार व्यवस्थापनले सरकारी मध्यस्थता प्रस्ताव अस्वीकार गरेको आरोप युनियनले लगाएको छ, यद्यपि त्यस प्रस्तावको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
उता सामसुङ व्यवस्थापनले भने युनियनका मागहरू अत्यधिक रहेको दाबी गरेको छ । विशेषगरी घाटामा रहेका एकाइहरूमा पनि उच्च क्षतिपूर्ति प्याकेज मागिएको भन्दै कम्पनीले आपत्ति जनाएको छ । दुवै पक्षले वार्ता जारी राख्ने इच्छा व्यक्त गरे पनि निकट भविष्यमा पुनः बैठक बस्ने सम्भावना स्पष्ट छैन ।
सामसुङ इलेक्ट्रोनिक्स स्मार्टफोन, उपभोक्ता इलेक्ट्रोनिक्स र सेमिकन्डक्टर उत्पादनमा विश्वकै अग्रणी कम्पनीमध्ये एक हो । यसको क्रस–टाउन प्रतिस्पर्धी एसके हाइनिक्ससँग मिलेर यसले विश्वको करिब दुई–तिहाइ मेमोरी चिप उत्पादन नियन्त्रण गर्दछ, जुन एआई प्रविधिको तीव्र विस्तारसँगै उच्च मागमा छ ।
कम्पनीले हालै सार्वजनिक गरेको तथ्याक.अनुसार जनवरी–मार्च त्रैमासिकमा यसको सञ्चालन नाफा आठ गुणा बढेर ५७२ खर्ब वन (करिब ३८ अर्ब अमेरिकी डलर) पुगेको छ । यद्यपि युनियनले यही नाफाको आधारमा कर्मचारीलाई लाभ वितरण सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ ।