ललितपुर । जेसीआई पाटनको आयोजनामा तेस्रो मेयर कप ओपन ब्लिट्ज रेटिङ चेस प्रतियोगिता शनिबार पाटन उच्च माध्यमिक विद्यालयमा हुने भएको छ ।
बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रतियोगिता गरिन लागेको हो । यसमा नेपाल चेस फेडेरेसन (एनसीएफ) मा आबद्ध खेलाडीहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कुल नगद पुरस्कार राशि ५६ हजार रुपैयाँ राखिएको छ । यसमा विजेताले १० हजार, ट्रफी तथा मेडल पाउनेछन् । दोस्रोदेखि दशौँ स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार, मेडल तथा प्रमाण प्रदान गरिनेछ । त्यसैगडरी यू१६, यू१४, यू१२, सी१०, भेटेरान, बेस्ट वुमन तथा अनरेटेड विधामा समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन साधारणतर्फ ३ सय रुपैयाँको टिकट निर्धारण गरिएको छ भने सहभागीलाई खाजाको व्यवस्था समेत गरिएको छ । प्रतियोगिताको प्राविधिक सहयोग पेभिलियन्स चेस एकेडेमीले गर्नेछ । बौद्धिक खेल चेसको प्रवर्द्धन तथा नयाँ प्रतिभा जन्माउने उद्देश्ले यो प्रतियोगिता आयोजना गरिएको पाटन जेसिजकी संयोजक श्रावस्ती महर्जनले जानकारी दिइन् ।