धर्म र परम्पराअनुसार पनि पहिले नेपाली समाजमा सम्बन्ध विच्छेदलाई अत्यन्तै नराम्रो दृष्टिले हेरिन्थ्यो। असह्य पीडा सहेर पनि श्रीमान् र श्रीमतीलाई छोड्नु भनेको अघोर पापको रूपमा समेत लिइन्थ्यो। पछिल्लो समयसम्म पनि माइतीघर, परिवार, समाज, आफन्त र आफ्नै इज्जतको डरले गर्दा धेरै दम्पती समस्या भए पनि सम्बन्ध विच्छेदसम्म पुग्ने गर्दैनथे र जस्तो समस्या भए पनि सँगै बस्ने गर्थे। विशेष गरी नेपाली महिलाहरूका लागि सम्बन्ध विच्छेद गर्ने भन्ने सोच नै आउँदैनथ्यो। विवाह गरेर ल्याएकी बुहारी वा सिन्दूर हालेकी श्रीमती र सातफेरा लगाएर गरेको विवाहलाई छुट्याउने कल्पना नै गर्दैनथे। दान गरेर दिएकी छोरीलाई छुट्याउनु माइती पक्षले पनि स्वीकार गर्दैनथ्यो, त्यसैले यसलाई निकै कठिन विषय मानिन्थ्यो । हालैको प्रतिवेदनअनुसार नेपालमा हालको अवस्थामा सम्बन्ध विच्छेदका घटनाहरू उल्लेखनीय रूपमा बढिरहेको पाइएको छ ।
तर समय परिवर्तनसँगै देखासिकी, भोगाइ, बाहिरी समाज, सोचाइमा परिवर्तन, कामकाजी जीवनशैली, आर्थिक अवस्थामा सुधार, नयाँ प्रविधि तथा सहरी जीवनमा आएको व्यक्तिगत स्वतन्त्रताको परिवर्तनले अहिले वैवाहिक सम्बन्धमा असर तथा सम्बन्ध विच्छेद गर्न सहजता र वृद्धि भएको पाइन्छ। नेपालमा सम्बन्ध विच्छेद बढ्नुका अन्य कारणहरूमा आर्थिक, सामाजिक, व्यवहारिक तथा कानुनी पक्षहरू पनि जोडिएका देखिन्छन् ।
कतिपय अवस्थामा केटी पक्ष आर्थिक रूपमा धेरै सम्पन्न हुनु, माइती पक्ष अत्यन्त धनी हुनु तथा केटा आर्थिक रूपमा कमजोर हुनुका कारण पनि दाम्पत्य सम्बन्धमा असन्तुलन आउन सक्छ। यदि सम्बन्धमा समान सम्मान, समझदारी र परिपक्वता भएन भने आर्थिक हैसियतकै कारण हेपाहा प्रवृत्ति, घमण्ड, नियन्त्रण गर्ने प्रयास वा ‘हामी ठूलो’ भन्ने मानसिकता विकसित हुन सक्छ। यसले पति–पत्नीबीच आत्मसम्मानको टकराव निम्त्याएर सम्बन्ध कमजोर बनाउन सक्छ। यद्यपि धनी वा गरिब हुनुमात्र सम्बन्ध विच्छेदको कारण होइन, तर आर्थिक असन्तुलनलाई कसरी व्यवहार गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
त्यसैगरी, अहिले धेरै विवाहहरू छोटो चिनजान, सामाजिक सञ्जाल, भावनात्मक आवेग वा बाहिरी प्रभावमा हुने गरेको पनि देखिन्छ। एकअर्काको वास्तविक बानीव्यहोरा, सोच, स्वभाव, जिम्मेवारीप्रतिको दृष्टिकोण तथा पारिवारिक संस्कार राम्रोसँग नबुझी विवाह हुँदा पछि व्यवहारिक जीवनमा ठूलो फरक देखिन सक्छ। विवाहअघि देखिएको व्यवहार र विवाहपछिको वास्तविकता फरक पर्दा निराशा, विवाद तथा अन्ततः सम्बन्ध विच्छेदको अवस्था आउन सक्छ ।
कानुनी सहजताले पनि केही प्रभाव पारेको देखिन्छ। पहिले सम्बन्ध विच्छेद कानुनी, सामाजिक तथा पारिवारिक रूपमा निकै कठिन मानिन्थ्यो। अहिले कानुनी प्रक्रिया तुलनात्मक रूपमा सहज बनेको छ। यसले वास्तविक पीडितलाई न्याय र सुरक्षित विकल्प दिएको सकारात्मक पक्ष त छ, तर कतिपय अवस्थामा सानो असमझदारीमा पनि सम्बन्ध जोगाउने प्रयास नगरी तुरुन्त सम्बन्ध विच्छेदतर्फ जाने प्रवृत्ति बढेको भन्ने चर्चा पनि समाजमा हुने गरेको छ। विशेष गरी ‘रिसको आवेग’, ‘क्षणिक असन्तुष्टि’ वा बाहिरी उक्साहटका कारण हतारमा निर्णय लिँदा पछि पछुतो हुने अवस्थासमेत देखिन्छ। त्यस्तै, यदि एकअर्काको जीवनशैली, व्यवहार, संगत तथा चरित्रप्रतिको दृष्टिकोण धेरै फरक भयो भने पति–पत्नीबीच मन नमिल्ने अवस्था आउन सक्छ। विवाह केवल प्रेमको सम्बन्धमात्र नभई जिम्मेवारी, अनुशासन, सम्मान र विश्वासको सम्बन्ध पनि भएकाले अत्यधिक लापरवाही वा गैरजिम्मेवारी व्यवहारले सम्बन्धमा गहिरो असर पार्न सक्छ ।
विगतका तथ्यांक हेर्दा नेपालमा २०५० सालपछि सम्बन्ध विच्छेदका घटनाहरू बिस्तारै बढ्न थालेको देखिन्छ र २०७२ सालको संविधानपछि तथा कोभिड–१९ पछिका वर्षहरूमा यसको संख्या अझ तीव्र रूपमा बढेको पाइन्छ। आज सम्बन्ध विच्छेद केवल पति–पत्नी नमिल्ने विषयमात्र नभई सामाजिक, आर्थिक, मनोवैज्ञानिक तथा सांस्कृतिक परिवर्तनको मिश्रित परिणाम बनेको छ। पक्कै हो कि सम्बन्ध विच्छेद नेपाली समाजमा राम्रो कुरा होइन, तर बस्नै नसक्ने अवस्थालाई सामान्य रूपमा लिन पनि आवश्यक पर्छ। मन नै नमिली बस्नुभन्दा अलग हुनु ठीक हो, तर सामान्य विषयवस्तुलाई लिएर घर भत्किनु पक्कै राम्रो संकेत मानिँदैन। यसका प्रमुख कारणहरूलाई निम्न रूपमा व्याख्या गर्न सकिन्छ ।
समाज परिवर्तन हुँदै जानु
समाज समयसँगै परिवर्तनशील हुन्छ। पहिले संयुक्त परिवार, गाउँघरको सामाजिक नियन्त्रण, धैर्यता तथा ‘जे भए पनि परिवार जोगाउनुपर्छ’ भन्ने सोच बलियो थियो। अहिले मानिसहरू व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत खुशी तथा आत्मसन्तुष्टिलाई बढी महत्व दिन थालेका छन्। आधुनिक सोच, सहरीकरण तथा खुला सामाजिक वातावरणले दाम्पत्य सम्बन्धलाई प्रत्यक्ष असर गरिरहेको छ। अहिले धेरै मानिसहरू सम्बन्ध टिकाउनुभन्दा आफ्नो व्यक्तिगत सहजता र स्वतन्त्रतालाई प्राथमिकता दिन थालेका छन् ।
आत्मनिर्भरता र ‘एक्लै पनि जीवन चलाउन सक्छु’ भन्ने भावना
पहिले आर्थिक रूपमा पति वा पत्नी एकअर्कामा धेरै निर्भर हुन्थे। अहिले महिलाहरू पनि शिक्षित, रोजगारमुखी तथा आर्थिक रूपमा सक्षम बन्दै गएका छन्। यो सकारात्मक परिवर्तन भए पनि कतिपय अवस्थामा ‘एक्लै पनि बाँच्न सक्छु’ भन्ने भावना अत्यधिक बढ्दा सम्बन्ध जोगाउन धैर्यता कम हुँदै गएको देखिन्छ। अहिले धेरै मानिसहरू सम्बन्धमा समायोजनभन्दा व्यक्तिगत स्वतन्त्रतालाई बढी महत्व दिन थालेका छन् ।
धेरैले आफूलाई अत्यधिक आधुनिक ठान्नु
आधुनिकता आफैंमा नराम्रो कुरा होइन। तर कतिपय अवस्थामा आधुनिकताको गलत बुझाइले सम्बन्धमा समस्या ल्याउने गरेको देखिन्छ। ‘मलाई कसैले केही भन्न मिल्दैन’, ‘मेरो खुशी नै सबैभन्दा ठूलो कुरा हो’, ‘म किन सहेर बस्ने?’ भन्ने सोच अत्यधिक बढ्दा आपसी समझदारी कमजोर बन्छ। विवाह केवल अधिकारको सम्बन्ध नभई जिम्मेवारी, त्याग, धैर्यता र समायोजनको सम्बन्ध पनि हो भन्ने कुरा बिस्तारै कमजोर हुँदै गएको देखिन्छ ।
वैदेशिक रोजगारी र लामो दूरी
नेपालमा वैदेशिक रोजगारी एउटा ठूलो सामाजिक वास्तविकता बनेको छ। धेरै पति वा पत्नी वर्षौंसम्म विदेशमा बस्ने अवस्था हुन्छ। लामो समयसम्म टाढा हुँदा भावनात्मक दूरी, शंका, विश्वासको कमी, एक्लोपन तथा बाह्य सम्बन्धजस्ता समस्या बढ्न सक्छन्। कतिपय अवस्थामा विदेशमा बस्दा एक जनाले कमाएको सम्पत्ति वा पैसाको दुरुपयोग भएको, सम्पत्ति हराएको वा गलत रूपमा खर्च गरिएको कुरा पछि थाहा पाएर पनि सम्बन्ध बिग्रिने गरेको देखिन्छ । कतिपय अवस्थामा ‘हनी ट्र्याप’ जस्ता घटनाले समेत परिवार विखण्डन भएको पाइन्छ।
अपरिपक्व सोच र व्यवहार
केटा वा केटी दुवैमा अपरिपक्व व्यवहार, जिम्मेवारी नबुझ्ने प्रवृत्ति, अत्यधिक रिस तथा सानो कुरामा ठूलो विवाद गर्ने बानीले पनि सम्बन्ध कमजोर बन्छ। अहिले कतिपय मानिसहरू विवाहलाई केवल रमाइलो वा प्रेमको विषयमात्र ठान्छन्, तर विवाह वास्तवमा जिम्मेवारी, सहनशीलता र समायोजनको यात्रा पनि हो भन्ने कुरा व्यवहारमा बुझ्नु आवश्यक छ।
कुलत तथा दुर्व्यसन
केटा वा केटी अत्यधिक जाँडरक्सी खाने, उच्छृंखल, गैरजिम्मेवार, कुलतमा फसेको वा परिवारप्रति उत्तरदायी नभएको अवस्थामा पनि सम्बन्धमा असन्तुष्टि बढ्न सक्छ। लागूऔषध, जाँडरक्सी, जुवा, गलत संगत तथा अन्य कुलतहरूले परिवारमा ठूलो समस्या निम्त्याउँछन्। यस्तो व्यवहारले आर्थिक संकट, घरेलु हिंसा, मानसिक तनाव, विश्वासको कमी तथा असुरक्षा बढाउने हुँदा सम्बन्ध विच्छेदसम्म पुग्ने अवस्था सिर्जना हुन्छ ।
शारीरिक तथा भावनात्मक असन्तुष्टि
पति–पत्नीबीचको शारीरिक तथा भावनात्मक सन्तुष्टि वैवाहिक जीवनको महत्वपूर्ण पक्ष हो। यस विषयमा खुला संवादको कमी, बेवास्ता, असन्तुष्टि वा गलत अपेक्षाले सम्बन्धमा दूरी ल्याउन सक्छ। धेरै दम्पतीले आफ्नो भावना खुलेर व्यक्त नगर्दा सानो समस्या पनि ठूलो बन्न जान्छ ।
विवाहअघि र विवाहपछिको व्यवहारमा परिवर्तन
कतिपय अवस्थामा विवाहअघि देखाइएको व्यवहार र विवाहपछिको वास्तविक व्यवहार धेरै फरक हुन्छ। बोली, बानी, व्यवहार, जिम्मेवारीप्रतिको सोच तथा नियतमा परिवर्तन आउँदा एकअर्काप्रति निराशा बढ्न सक्छ। ‘पहिले जस्तो छैन’ भन्ने भावना सम्बन्धमा गहिरो असन्तुष्टि बन्न पुग्छ ।
बानीव्यहोरा नमिल्नु, घमण्डीपन र हेपाहा प्रवृत्ति
सबै मानिसको सोच, बानी तथा स्वभाव फरक हुन्छ। विवाहपछि एकअर्कालाई बुझ्ने, स्वीकार गर्ने र समायोजन गर्ने क्षमता कमजोर हुँदा विवाद बढ्छ । ‘मेरो कुरा नै सही’ भन्ने घमण्डीपन, हेला गर्ने, हेप्ने, सम्मान नगर्ने वा सधैं आलोचना गर्ने व्यवहारले सम्बन्धमा गहिरो चोट पुर्याउँछ। विवाहमा प्रेम, सम्मान धेरै महत्वपूर्ण हुन्छ भन्ने कुरा बिस्तारै हराउँदै गएको देखिन्छ ।
घरायसी तथा व्यक्तिगत तनाव
धेरै मानिस घरको काम, आर्थिक समस्या, बेरोजगारी, कामको दबाब वा दैनिक तनावबाट वाक्कदिक्क भएका हुन्छन्। यस्तो अवस्थामा सानो कुराले पनि ठूलो विवाद निम्त्याउन सक्छ। घरभित्र शान्त वातावरण नहुँदा दाम्पत्य सम्बन्ध क्रमशः कमजोर बन्न जान्छ।
उक्साहटपूर्ण वातावरण र बाह्य प्रभाव
अहिले समाजमा साथीभाइ, आफन्त, सामाजिक सञ्जाल तथा बाह्य व्यक्तिहरूको अनावश्यक उक्साहटले पनि सम्बन्ध बिगार्ने काम गरिरहेको देखिन्छ। सानो विवादलाई मिलाउनुभन्दा ‘छोडिदेऊ’, ‘किन सहेर बस्ने?’, ‘आफ्नो जीवन आफ्नै हो’ भन्ने अत्यधिक व्यक्तिगत उक्साहटले सम्बन्ध सुधार्ने सम्भावना कमजोर बनाइदिन्छ। कतिपय अवस्थामा वास्तविक समस्या सानो भए पनि बाहिरी प्रभावले त्यसलाई ठूलो बनाउने गरेको देखिन्छ ।
टेलिसिरियल, सामाजिक सञ्जाल र देखासिकी प्रवृत्ति
अहिले टेलिसिरियल, चलचित्र, टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालले मानिसहरूको सोचाइ र अपेक्षामा ठूलो परिवर्तन ल्याएको छ। कतिपयले पर्दामा देखाइने जीवनशैलीलाई वास्तविक जीवनसँग तुलना गर्न थाल्छन्। ‘अरूको जीवन राम्रो देखिन्छ, मेरो किन यस्तो?’ भन्ने सोचले असन्तुष्टि बढ्न सक्छ। साथै देखासिकी प्रवृत्तिले पनि वैवाहिक सम्बन्धमा अनावश्यक दबाब सिर्जना गरिरहेको छ।
एक्लोपन र भावनात्मक दूरी
व्यस्त जीवनशैली, वैदेशिक रोजगारी तथा परिवारसँग समय बिताउन नसक्दा धेरै मानिसहरू भावनात्मक रूपमा एक्लो महसुस गर्छन्। पति–पत्नीबीच समय, संवाद र भावनात्मक साथ कम हुँदै जाँदा सम्बन्ध कमजोर बन्न सक्छ ।
सन्तान नहुनु र पारिवारिक तनाव
कतिपय परिवारमा सन्तान नहुनु पनि सम्बन्धमा तनावको कारण बन्न सक्छ। विशेष गरी नेपाली समाजमा सन्तानलाई परिवारको महत्वपूर्ण आधार मानिने भएकाले यस विषयलाई लिएर मानसिक दबाब, परिवारको हस्तक्षेप तथा एकअर्काप्रति असन्तुष्टि बढ्न सक्छ।
शंका, अत्यधिक सोचाइ र विश्वास कमजोर हुनु
पति–पत्नीबीच शंका बढ्नु, फोन, सामाजिक सञ्जाल वा व्यवहारलाई लिएर अत्यधिक सोच्नु तथा विश्वास कमजोर हुनु पनि सम्बन्ध बिग्रिनुको ठूलो कारण बनेको छ। शंका एकपटक गहिरो बनेपछि सानो कुराले पनि ठूलो झगडा निम्त्याउन सक्छ।
एकअर्काको भावना र पेशागत मर्यादा नबुझ्नु
कतिपय अवस्थामा पति वा पत्नीको पेशा, कार्यशैली वा सामाजिक सम्बन्धलाई गलत रूपमा बुझ्दा पनि विवाद बढ्छ। एकअर्काको भावना, संघर्ष तथा पेशागत मर्यादा नबुझ्दा अनावश्यक शंका उत्पन्न हुन्छ र सम्बन्धमा तनाव बढ्न जान्छ।
परिवारको हस्तक्षेप
घरायसी विवाद, आफन्तको अत्यधिक हस्तक्षेप, पक्षपात तथा व्यक्तिगत निर्णयमा दबाबले पनि दाम्पत्य जीवनमा तनाव ल्याउन सक्छ। कतिपय अवस्थामा पति–पत्नीको भन्दा बाहिरी व्यक्तिको प्रभाव बढी हुँदा सम्बन्ध कमजोर बन्न पुग्छ ।
समाजप्रति उत्तरदायित्व घट्दै जानु
पहिले विवाहलाई केवल दुई व्यक्तिको सम्बन्धमात्र नभई परिवार, समाज तथा भावी पुस्तासँग जोडिएको जिम्मेवारीको रूपमा हेरिन्थ्यो। अहिले कतिपय अवस्थामा ‘मेरो खुशी मात्र महत्वपूर्ण’ भन्ने सोच बढ्दै जाँदा समाज, परिवार तथा बालबालिकाप्रतिको उत्तरदायित्व कमजोर हुँदै गएको देखिन्छ ।
घरेलु हिंसा र मानसिक दबाब
कतिपय सम्बन्धमा शारीरिक हिंसा, मानसिक यातना, अपमान, नियन्त्रण गर्ने व्यवहार तथा ज्यानको खतरा जस्ता गम्भीर समस्या पनि हुन्छन् । यस्तो अवस्थामा सम्बन्ध विच्छेद कहिलेकाहीँ आवश्यक र सुरक्षित निर्णय बन्न सक्छ ।
बालबालिकामा पर्ने असर
कम उमेरमै सम्बन्ध विच्छेद हुँदा कतिपय अवस्थामा दुवैले नयाँ जीवन सुरु गर्न सक्छन्। तर उमेर बढ्दै जाँदा, घरमा बालबालिका हुँदा तथा पारिवारिक जिम्मेवारी धेरै भइसकेपछि हुने सम्बन्ध विच्छेदले परिवार र समाजमा गहिरो असर पार्न सक्छ । विशेष गरी बालबालिकामा मानसिक तनाव भइरहेको, असुरक्षाको भावना बढेको, पढाइमा असर परेको, व्यवहारमा परिवर्तन आएको तथा आत्मविश्वासमा कमी आएको जस्ता समस्या देखिन सक्छन् । परिवार विखण्डन हुँदा समाजमा पनि भावनात्मक दूरी, एक्लोपन तथा सामाजिक असन्तुलन बढ्न सक्छ।
के सम्बन्ध विच्छेद सधैं नराम्रो मात्र हो त ?
पक्कै पनि सम्बन्ध विच्छेद राम्रो कुरा होइन र सकेसम्म सम्बन्ध जोगाउने प्रयास गर्नुपर्छ। तर सबै अवस्थामा जबरजस्ती सँगै बस्नु नै राम्रो हुन्छ भन्ने पनि छैन। सम्बन्ध विच्छेदले यदि कसैको जीवन बचाउँछ भने, कसैलाई ठूलो असर पर्दैन भने, स्वार्थरहित छ भने अन्तिम अवस्थामा यो उचित हुन सक्छ। यदि सम्बन्ध हिंसात्मक बन्छ, अत्यन्त पीडादायी हुन्छ, एकअर्कामा असुरक्षित महसुस हुन्छ, मानसिक रूपमा विनाशकारी हुँदै जान्छ, निरन्तर झगडाले तनाव निम्त्याएको छ भने हिंसा, आत्महत्या वा ठूलो दुर्घटना निम्त्याएर सँगै बस्नुभन्दा अलग भएर शान्त र सुरक्षित जीवन बिताउनु उचित हुन सक्छ ।
तर समस्या आएपछि तुरुन्त सम्बन्ध विच्छेदतर्फ जानुभन्दा संवादबाट अगाडि बढ्नु, सकेसम्म धैर्यता राख्नु, दुवै पक्षको समझदारी बढाउनु, परिवारका सदस्यले सकारात्मक सहयोग गर्नु, साथीभाइले पनि सकारात्मक रूपमा सम्झाउनु, परामर्शदाताको सल्लाह लिनु, आध्यात्मिक बन्नु तथा सधैं नकारात्मक सोचमात्र नराखी सकारात्मक सोचका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ। अरूसँग तुलना गर्नेभन्दा भएकोमा खुशी हुन सिकेमा घरघरमै देखिने धेरै समस्या कम हुन सक्छन् ।
निष्कर्ष
सम्बन्ध टिकाउन प्रेम अनि सम्मान, आपसी साथ, विश्वास, निरन्तर संवाद, धैर्यता, यथार्थ बुझ्ने क्षमता, जिम्मेवारी लिन र दिन सक्ने, भावना तथा एकअर्काप्रति समझदारी अत्यन्त आवश्यक हुन्छ। त्यसका साथै पेशागत मर्यादा पनि एकअर्काले बुझ्नु उत्तिकै जरुरी छ। त्यसैले सम्बन्ध विच्छेदलाई न त पूर्ण रूपमा गलत भन्न मिल्छ, न त सामान्य कुरा मानेर सहज रूपमा लिन मिल्छ। केही अवस्थामा यो ठूलो दुर्घटना, हिंसा वा पीडाबाट बच्ने माध्यम पनि बन्न सक्छ। तर सानो असमझदारी, देखासिकी वा क्षणिक आवेगका कारण सम्बन्ध तोड्नु भनेको परिवार, बालबालिका र समाजमा दीर्घकालीन रूपमा नकारात्मक असर पार्ने देखिन्छ ।