काठमाडौं । साना तथा मझौला कर्जा लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताबमोजिम ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ कार्यान्वयन सुरु भएको छ ।
स्विजरल्यान्ड सरकारको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन र कोशी प्रदेश सरकारको संयुक्त लगानी रहेको उदय परियोजनाअन्तर्गत कोशी प्रदेश साना तथा मझौला उद्यम व्यवसायहरूमा प्रवाहित हुने कर्जाको सुरक्षणका लागि प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालय, कोशी प्रदेश र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच स्थापना भएको ‘कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष’ बाट कर्जा सुरक्षण हुनेगरी योजना सञ्चालन गर्न लागिएको हो । यो योजनाअन्तर्गत बैंकको आरबीबी एसएमई लोन प्रोडक्ट पेपरको अधिनमा रही साना तथा मझौला स्तरका कृषि, उद्योग, सेवा व्यवसाय आदि क्षेत्रमा ३० लाख देखि तीन करोड रुपैयाँसम्मको कर्जा प्रवाह गरिने छ । उक्त कर्जामा बैंकको नियमानुसार न्यूनतम ब्याजदर र प्रशोधन शुल्क कायम गरिएको छ ।
बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी तीन सय १४ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, तीन सय ३४ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङमार्फत ४७ लाख भन्दा बढी ग्राहकलाई विभिन्न किसिमका कर्जा, निक्षेपसहित आधुनिक डिजिटल बैंकिङ सेवाहरू उपलब्ध गराइरहेको छ ।