काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा डिजिटल भुक्तानी तथा विद्युतीय कारोबारको प्रयोग उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । चालू आर्थिक वर्ष २०८२/०८३को चैत मसान्तसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबारमा उल्लेखनीय वृद्धि भएको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार २०८२ चैत मसान्तसम्म डेबिट कार्ड प्रयोगकर्ताहरूले एक करोड तीन लाख कारोबारमार्फत कुल ८० अर्ब नौ करोड रुपैयाँबराबरको कारोबार गरेका छन् । यसले सर्वसाधारणमा डिजिटल बैंकिङ सेवाप्रति आकर्षण बढ्दै गएको संकेत गरेको छ । मोबाइल बैंकिङतर्फ अझ ठूलो परिमाणमा कारोबार भएको देखिएको छ । नौ महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत सात करोड ४४ लाख कारोबार हुँदा कुल छ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँबराबरको कारोबार भएको छ । त्यसैगरी, क्यूआर कोड भुक्तानी प्रणालीमार्फत पाँच करोड ४६ लाख कारोबारबाट एक खर्ब ५३ अर्ब ४७ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार हाल देशभर २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक गरी कुल एक सय छवटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । यद्यपि बैंक तथा वित्तीय संस्थाका शाखा संख्या भने केही घटेको छ । २०८२ असार मसान्तसम्म ११ हजार पाँच सय २६ शाखा रहेकोमा २०८२ चैत मसान्तसम्म घटेर ११ हजार चार सय एकवटामा सीमित भएको छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिललो नौ महिनामा बैंकिङ क्षेत्रको अन्तरबैंक कारोबारमा भने कमी आएको छ । चालू आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरूको सात खर्ब ४९ अर्ब एक करोड रुपैयाँ र विकास बैंक र फाइनान्स कम्पनीहरूले एक खर्ब ४३ अर्ब २० करोड रुपैयाँ गरी कुल आठ खर्ब ९२ अर्ब २१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कारोबार रकम पाँच खर्ब १२ अर्ब १२ करोड रुपैयाँ रहेको थियो । पछिल्लो समय बैंकिङ क्षेत्रको ब्याजदरमा पनि गिरावट देखिएको छ । २०८१ चैत मसान्तमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन दशमलव शून्य छ प्रतिशत रहेकोमा २०८२ चैत मसान्तमा घटेर दुई दशमलव ६१ प्रतिशतमा झरेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर पनि तीन प्रतिशतबाट घटेर दुई दशमलव ७५ प्रतिशतमामा झरेको छ । वाणिज्य बैंकहरूको औसत आधार दर पनि छ दशमलव २९ प्रतिशतबाट घटेर पाँच दशमलव शून्य छ प्रतिशतमा झरेको छ । विकास बैंकहरूको आधार दर आठ दशमलव ३४ प्रतिशतबाट सात दशमलव ३६ प्रतिशत तथा फाइनान्स कम्पनीहरूको नौ दशमलव १७ प्रतिशतबाट सात दशमलव ४८ प्रतिशतमा सीमित भएको छ ।
राष्ट्र बैकका अनुसार पछिल्लो समय बैंकिङ क्षेत्रमा निक्षेप तथा कर्जाको ब्याजदरमा पनि कमी आएको छ । २०८२ चैत मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर तीन दशमलव ४० प्रतिशत, विकास बैंकहरूको तीन दशमलव ७७ प्रतिशत र फाइनान्स कम्पनीहरूको सात दशमलव ७४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी दर क्रमशः चार दशमलव ४५, पाँच दशमलव २२ र छ दशमलव २४ प्रतिशत रहेका थिए । यसैगरी कर्जाको भारित औसत ब्याजदर पनि घटेको छ । वाणिज्य बैंकहरूको कर्जा ब्याजदर आठ दशमलव २२ प्रतिशतबाट घटेर छ दशमलव ७७ प्रतिशतमा पुगेको छ भने विकास बैंकहरूको नौ दशमलव ५९ प्रतिशतबाट सात दशमलव ९६ प्रतिशत तथा फाइनान्स कम्पनीहरूको १० दशमलव ४० प्रतिशतबाट नौ दशमलव २६ प्रतिशतमा झरेको छ । समग्रमा हेर्दा बैंकिङ क्षेत्रमा डिजिटल माध्यमको प्रयोग तीव्र रूपमा बढिरहेको छ भने ब्याजदरमा आएको गिरावटले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा राष्ट्र बैंकले गरेको छ ।