‘कामचोर’ शब्दको अर्थ आफ्नो जिम्मेवारीबाट पन्छिने वा ठग्ने व्यक्ति भन्ने बुझिन्छ । त्यो शब्दले अल्छी, ठग, अकर्मण्य भन्ने पनि जनाउँछ । कामचोर नामको त हिन्दी सिनेमा नै बनेको छ । नेपालमा पनि त्यस्ता खालका चलचित्रहरू बनाउनु जरुरी छ । मायाप्रीतिका भन्दा पनि देशमा व्याप्त विकृति, विसंगतिलाई चिरफार गर्दै प्रभावकारी हुने किसिमका चलचित्रहरू बनाउनु अति नै खाँचो छ । मैले उहिले हिन्दी चलचित्र ‘मेरी अदालत’ र ‘अन्धा कानुन’ हेर्दा नेपालमा यस्ता खालका चलचित्र कहिले बन्ला भनेर आफैँले आफैलाई प्रश्न गर्दथे । त्यस्ता हिन्दी चलचित्रमा प्रहरीका हाकिम अपराधीहरूसँग अप्रत्यक्ष रुपमा काँधमाकाँध मिलाउने गरेका देखिन्छन्, न्यायाधीशका साँठगाँठ पनि देशघातीहरूसँग हुने र पीडित मान्छे झनै पीडित हुनुपर्ने कुरा दर्शाइएका हुन्छन् । ‘कमजोर’ को अर्थ त धेरैलाई थाहा भएकै कुरा हो । जसले निर्धो, दुर्बल, निर्बल, अशक्त, असमर्थ, अक्षम, निमुखा भनेर शब्दकोशले प्रष्टसँग अर्थ लगाएको छ । यहाँ सरकारी कर्मचारीको प्रसङ्ग भएकोले कामचोरको सिधा अर्थ लाग्ने गरी आफ्नो कक्ष र कुर्सीमा नबस्ने टेबुलमा टोपी राखेर वा ह्यांगरमा कोट झुण्ड्याएर सेवाग्राहीहरूलाई कुराएर हैरानी पारेर आफू बाहिर बाहिर रमाउने र प्रशासनघाती काम गर्ने कर्मचारीलाई इंगित गरिएको छ । चाहे ऊ सहायकस्तरको होस् वा अधिकृतस्तरको ऊ कामचोर नै हो भन्ने बुझिन्छ । अनावश्यक कुराहरू गरेर टेबुलमा फाइलहरू थुपारेर सेवाग्राहीहरूलाई ‘आज हुन्न, भोलि आउनू’ भनेर घर फर्काउने कर्मचारी एक किसिमले अपराधी नै हुन् । लोकसेवा परीक्षा उत्तीर्ण गरेपछि नियुक्तिपूर्व ग्रहण गरिएको शपथ उनका लागि कुनै अर्थ छैन । केही कर्मचारी त पोशाकमा दिउँसै रेस्टुरेन्टमा मस्तिमा डुबेका हुन्छन् ।
सरकारी सवारी साधन दुरुपयोग रोक्नुपर्छ
हाकिमहरूले आफ्ना छोराछोरीलाई स्कुल वा क्याम्पसमा ल्याउन लैजान सरकारी गाडी प्रयोग गरेको पाइन्छ । त्यस्तै कारिन्दाहरूले मोटरसाइकलमा त्यस्तो गरेको पनि देखिन्छ । सवारी साधनमा प्रयोग हुने सरकारी रकमको इन्धन र मर्मत खर्च के घरायसी कामका लागि हो त? यसतर्फ पनि सरकारको ध्यान जानु अति नै जरुरी छ । सरकारी नम्बर प्लेटको गाडीमा निजी नम्बर प्लेट टाँसेर दुरुपयोग हुनेगरेको पनि पाइन्छ । यस्ता अनैतिक कार्यलाई पनि निरुत्साहित गरिनु जरुरी छ ।
रिसोर्टमा अन्तरक्रिया कार्यक्रम बहिस्कार गरे
देशको आर्थिक अवस्था चौपट भैरहँदा सरकारी कार्यक्रमहरू गर्नका लागि उपत्यका बाहिरका रिसोर्टहरूमा गर्नु र ब्रेकफास्ट, लञ्च, डिनरमा रमाउने एउटा बहाना मात्र हो । मुलुक समृद्ध छ भने त त्यसो गर्न सुहाउँछ, तर त्यो सुहाउने कुरा होइन । मैले त्यस्ता स्थानमा गरिने कार्यक्रम बहिष्कार गरेको अनुभव छ ।
सेवाग्राहीहरूको भीडभाड र पर्याप्त दरबन्दी
यातायात, बैदेशिक रोजगार, मालपोत, नापी लगायत सेवाग्राहीहरूको भीडभाड हुने कार्यालयहरूमा पर्याप्त दरबन्दी नहुँदा बेलुकी रातीसम्म बसेर काम गर्ने गरेको पनि पाइन्छ । पाँचबजेपछि काम गर्नु भनेको त्यहाँ केही छ भन्ने कुरा बुझनुपर्दछ । यस्ता खालका अड्डाहरूमा पर्याप्त दरबन्दीको व्यवस्था गरिएमा समयमै काम हुने र सेवाग्राहीहरूले राहत पाउने पक्का छ । नेपालमा प्रशासनीक सुधारका लागि धेरै समिति र आयोग बने, तर माखो पनि मरेन । पदाधिकारीहरूले भत्ता खाए अनि प्रतिवेदन दराजमा थन्किएर बसे ।
उजुरी पेटिका नाम मात्र
अहिले पनि सरकारी निकायहरूमा मूल ढोकाको छेउँमा उजुरी पेटिका देख्नसकिन्छ । तर त्यो उजुरी पेटिका सेवाग्राहीहरूलाई देखाउनका लागि मात्र हो । त्यसभित्र माकुराको जालो र कतै चुरोटका ठूटा देखिन्छन् । चुरोटको ठूटा देखिनु भनेको नेपालको प्रशासनको धज्जी उडाइनु हो ।
सरकारी उपकरण घरमा
कतिपय हाकिमहरूले कार्यालयका उपकरणहरू घरमा लगेर प्रयोग गर्नेगरेको पाइन्छ । पंखा, हिटर, कम्प्युटर, ल्यापटप र अन्य प्रकारका उपकरणहरू घरमा लगेर प्रयोग गरिने यस्तो कार्यलाई पूर्ण रुपमा निस्तेज पारिनु आवश्यक छ ।
सरुवामा दलाली परम्परा तोडौँ
नेताका आसेपासे बनेका केही कर्मचारीहरूले सरुवामा दलाली गर्ने, मोलमोलाई गर्ने र घुस खान पल्किएकाहरूलाई पुनः आकर्षक कार्यालयमा पठाउने गरिएको छ । जसले पैसा खुवाउन सक्दैन उसले धेरै नै हण्डर खानुपर्ने अवस्था छ । सामान्य प्रशासन मन्त्रीको सचिवालयमा निजी सचिव र स्वकीय सचिवको सानो समूहले सरुवाको सूची तयार गर्दछ । त्यहाँ प्रशासन महाशाखा र शाखाका कर्मचारीहरू बोल्दैनन् र निजी सचिव र स्वकीय सचिवले भनेबमोजिमको सरुवा सूची बनाउन लगाउँछन् अनि मन्त्रीको एक कलको ठाडो आदेशले सचिवलाई फाइल सदर गर्न लगाउँछन् ।
कलमको शक्ति
यसै आर्थिक दैनिकमा प्रकाशित मेरा केही लेखहरूका कारण राष्ट्रियस्तरमा सुधारका कामहरू भएको देख्दा मलाई ज्यादै नै खुशी लागेको छ । मैले सिंहदरबारभित्र रहँदा जे देखेँ त्यहीँ नै लेख्दैआएको छु । खराब कर्मचारीहरूका कारण मैले भोगेका हण्डरहरू हुबहु उतारेर लेख्न मलाई कुनै संकोच लाग्दैन । बरु मेरो पेन्सन रोकियोस् देश डुबाउने र जनतालाई मानसिक समस्या पैदा गराइदिने खराब नेता र प्रशासकहरूका विरुद्धमा मैले लेख्न छोड्नेछैन । जसरी खराब नेताहरूले सिंहदरबारलाई नाटक मञ्चन गर्ने रंगमञ्च र आफू अनुकूल खेलहरू खेल्ने रंगशाला बनाए त्यसरी नै देश अधोगतितिर लागेको कुरा छर्लङ्गै छ । म कार्यरत मन्त्रालयका मन्त्रीले डान्सबारबाट तरुनी उठाएर ल्याएर कम्प्युटर अपरेटरमा भर्ना गरेका र ती तरुनीका अपशब्दहरू मन्त्रीले आनन्दसँग सुनेर बसेका कुराहरू मलाई ताजा सम्झना छ । पर्खाल नाघेर परस्त्रीको ब्लाउज च्यातिदिने मन्त्रीदेखि विभिन्न हर्कत गर्ने मन्त्रीहरूको एउटा सूची नै बन्छ । सत्तामा पुगेपछि भत्ता बुझ्दै मोजमस्तीमा रमाउने नेताहरूका कुरा गरेर साध्य छैन । मन्त्री बनेका नेताहरूको दबाबमा कर्मचारीहरूले नचाहिँदा काम पनि गरे नेताकै स्वार्थका लागि । अख्तियारमा उजुरी पर्दा नेता जोगिने र कर्मचारीहरू फस्ने उदाहरणहरू धेरै छन् ।
कमजोर प्रशासनको एक नमूना ?
गोंगबु बसपार्क यात्रुहरूका लागि सहज र व्यवस्थित छैन । काउन्टरमा सधैँको कोलाहल, वृद्ध र विरामीहरूका लागि दिक्क लाग्ने ठाउँ । नयाँ कोही मान्छे त्यहाँ पुग्दा सुरुमै अलमलिने अवस्था छ । पहिले टुँडिखेल छेउँमा रहेको साँघुरो स्थानले पुगेको बसपार्कले अहिले व्यापकता लिएको देखिन्छ । बसपार्कको मुख्यद्वार प्रवेश गरेपछि त्यहाँ नेपालगंज–दाङ–भैरहवा भन्दै बाटोमै यात्रुहरूलाई सोधेर हैरान गर्छन् केही छटपटेहरूले, वीरगंज जाने यात्रुलाई पोखराको बस चढाउलान् जस्तो लाग्छ । जुन यात्रु जहाँ जाने हो त्यसका लागि सम्बन्धित काउन्टरमा गैहाल्छन् नि! किन तानातान गर्नुपरेको होला? एकपटक काम विशेषले बसपार्क छिर्दैथिएँ ‘लमजुङ हो?’ भनेर सोध्नेवालालाई मैले ‘हैन ताप्लेजुङ’ भनेर जवाफ दिएपछि जिल्ल परेका थिए उनी । दिवाबस होस् वा रात्रिबस जिल्ला वा प्रदेशअनुसार बसहरूलाई पंक्तिवद्ध किसिमले राखिदिए त सबैलाई सुविधा हुनेथियो । किन भद्रगोल बनाउनुपरेको होला बस व्यवसायी र बसपार्क सञ्चालन गर्ने कम्पनी लोह्त्से बहुउद्धेश्यीय प्रा.लि. ले? यसमा महानगरपालिकाले पनि ध्यान दिनु जरुरी छ । यो अस्तव्यस्त पनि प्रशासनिक कमजोरीको एक नमूना हो ।
आफैँले भोगेका कुशासनका कुराहरू
२०७५ सालमा सरकारले मलाई कार्यालय नभएको ठाउँ बाराको सिम्रौनगढमा सरुवा गरेपछि मलाई एक वर्षसम्म तनाव खेप्नुपरेको तीतो अनुभव कहिल्यै पनि बिर्सने कुरा होइन । एकजना साथीले भने– ‘पैसा खुवाउनुस् न, भनेको कार्यालयमा सरुवा हुन्छ ।’ तर म घुस खुवाएर सरुवा गराउने पक्षमा थिइनँ । सामान्य प्रशासन मन्त्रालयमा छजना साथीभाइहरू हुँदाहुँदै त मैले दुःख पाएँ भने दूरदराजबाट सरुवा माग्न काठमाडौँ आएका र पहुँच नभएका इमानदार कर्मचारीहरूको हालत के होला? सहजै अनुमान गर्न सकिन्छ । पछि भूमि व्यवस्थापन विभागले मलाई रोल्पामा रिक्त रहेको मालपोत अधिकृतमा छ महिनाका लागि काजमा खटायो । कोरोनाकाल भएकोले कामकाज ठप्प हुँदा म नजिकै रहेको आफ्नो जन्मथलोमा गएर रमाउनथालेँ । मालपोत मेरो रुचीको कार्यालय नभएको हुँदा आकर्षक निकाय भनेर नचिनिने खेलकुद मन्त्रालयमा सरुवा माग गरेँ र सरुवा त भयो । तर मन्त्रीको सचिवालयमा खटाइएकोले मन्त्रीका चम्चाहरूले मलाई दिनुसम्म दुःख दिए । मन्त्रीका स्वकीय सचिवले मेरो कुर्सी–टेबुल हडपेको र कार्यकक्ष कब्जा गरेको कुरा मैले कहिल्यै पनि भुल्दिनँ ।
अवकाश मेरा लागि मुक्ति साबित भयो
सरकारी जागिरबाट अवकाश पाएपछि मलाई ठूलो मुक्ति मिलेको महसुस भएको थियो । किन कि कर्मचारीतन्त्रभित्र केही खराब कर्मचारीहरूका कारण सिंगो कर्मचारीतन्त्र बदनाम छ । त्यहाँ घुस्याहा र भ्रष्टाचारी अनि कमिशनखोरहरूको जगजगी छ । मलाई मालपोत हाकिमको कुर्सि अप्रिय लागेको कुरा त मेरा तमाम लेखहरू र मसँग सम्बन्धित समाचारबाट नै प्रष्ट हुन्छ । थप दुई वर्ष म रोल्पाको मालपोत हाकिमको कुर्सीमा बस्नुपर्नेमा मैले सो कुर्सी लात मारेर कमजोर मन्त्रालय भनेर चिनिने खेलकूद मन्त्रालयमा आएँ । मैले धनसम्पत्तिलाई भन्दा पनि नैतिकता र इमानदारीतालाई नै महत्व दिँदैआएको कुराहरू केही मासिक–द्वैमासिक–त्रैमासिक साहित्यिक पत्रिकाहरूमा प्रकाशित मेरा जीवनीहरूमा पनि उल्लेख छन् । सम्पत्ति सून्यप्रायः रहेको मेरो लालपूर्जा कसैले हेर्न चाहन्छ भने म तत्काल देखाउन सक्छु । मलाई अब सम्मान र पुरस्कार पुग्यो भनेर मेरो एउटा लेख पनि आइसकेको छ, जसलाई पाठकहरूले सराहनीय कदम पनि भन्नुभएको छ । महंगो सहर भनेर चिनिने काठमाडौँ बसाइको क्रममा बेलाबेलामा पैतृक सम्पत्ति बेच्नुपर्ने अवस्था पनि आयो । तर म विचलित भने भइनँ । अहिले साहित्य क्षेत्रमा लागेर सन्तुष्टिका साथ रमाएपछि मेरो शब्दमालाले पनि यसै भन्छ–
सम्पत्ति सकिएपछि नाम कमाएँ
आफ्नै लगाव क्षेत्रमा प्रभुत्व जमाएँ
गीतमा लेखिएझैँ चालीस कटेसी हैन
म त किनकि साठी कटेसी रमाएँ ।