राजनीति शास्त्रको पाठ्यक्रम क ख इतिहासबाट प्रारम्भ हुन्छ । दोस्रो विश्वयुद्धका महानायक (हिटलर स्टालिन नायकहरू धेरै थिए) बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका छन्— ‘तपाईँ आफ्नो इतिहासको विगतबारे जति टाढासम्म जान्नुहुन्छ, त्यति नै टाढासम्म अगाडिको बाटो देख्नुहुन्छ ।’ पश्चिमी राजनीति शास्त्रको पाठ्यक्रममा चर्चिलको यो वाक्य त्यसयता अनिवार्य स्थापित भएको छ । हाम्रो पूर्वीय राजनीति शास्त्रमा त सदियौँ पहिले गीतावचनमा उल्लेख भएको छ । चर्चिलले गीताबाटै शिक्षा लिएर यो वाक्य भनेका हुन् भन्ने अनुमान लगाउन सबै स्वतन्त्र छौँ । ‘राजनीति शास्त्रको क ख इतिहास’ भन्ने त पश्चिमा राजनीति शास्त्रमा पनि सुक्रात, अरस्तु मेकियावेलीदेखि नै पाठ्यक्रम बन्दै आएको हो ।
राजनीतिमा इतिहासको ठीक जानकारी कति धेरै महत्वपूर्ण हुन्छ भन्ने सन्दर्भमा यति कुरा ल्याएको हुँ । पछिल्लो हाम्रै उदाहरणबाट पनि यो पाठ्यक्रम अक्षरंस चरितार्थ भएको देखिन्छ । इतिहासको ठीक जानकारी शून्य भएकै कारण तीन पटक, चार पटक, पाँच/पाँच पटक प्रधानमन्त्री भएर झण्डै तीन दशक बढी ३५ वर्षसम्म नेपालको राज्यसत्तामा एकछत्र हुकुम चलाएका शेरबहादुर देउवा, खड्गप्रषाद ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ आदि इत्यादि कसरी आफ्नै दैलोअगाडिको नौ फिट गहिरो खाल्डोमा पुरिए ? अब त नेपालका मात्र होइन नेपालजस्ता संसारभरिका जेनजी पुस्ताका लागि बुझ्नलाई छर्लङ्ग हुने उदाहरण पाठ्यक्रम उपलब्ध भएको छ । ‘नौ फिट गहिरो खाल्डो’को अलिकति प्रसङ्ग जोडेर ‘स्वर्णिमको बजेट बालेन पुरिने खाल्डो मा आइपुग्छु । ‘नौ फिट गहिरो खाल्डो’का बारेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष २१ फागुन ०८२ को चुनावले झण्डै ०१६ सालका बीपीको पोजिसनमा पुगेका रवि लामिछानेले बडो सटिक परिभाषा गरेका छन् । ‘७ फिट गहिरो खाल्डोसम्म मानिस दुइ हात उचालेर उफ्रिँदा आफैँ बाहिर निस्कन सक्छ । तर नौ फिट गहिरो खाल्डोमा परेपछि भने बाहिर निस्कन अरूले हात दिनु पर्छ । आफैँ नौ फिट गहिरो खाडल खनेर त्यसमा हामफालेका (दैलोअगाडिको खाल्डो नदेख्नु) कांग्रेस, एमाले, माओवादीलाई राजा ज्ञानेन्द्रले पुरपार गरिदिन कदम चाल्दा माओवादी आएर बाहिर निकालिदिएका हामीहरूबाट लुकेको र जेनजी पुस्ताबाट लुक्ने भ्रम कसैले नराखौँ’ रवि लामिछानेको कथन हो ।
अब आऔँ ‘बालेन पुरिने खाल्डो’ बजेटको चिरफारतर्फ । यद्यपि मेरो एकेडेमिक पृष्ठभूमि बजारमा छ्याप्छ्याप्ती उपलब्ध पीएचडी होल्डर अर्थशास्त्रीको होइन तथापि विसं २०२८ साल बनारसमा जननायक बीपी कोइराला र कमरेड पुष्पलालका बीच एक–अर्काका राजनीतिक आर्थिक प्रस्तावमा ब्लाइन्ड हस्ताक्षर हुन सिटीहलको वार्ता टेबल बस्दा स्ववियू बनारस शाखाको चुनावमा समाज सेवा सचिव विजयी विद्यार्थी नेताको रूपमा साक्षी रहेको देखि आजसम्म अनवरत संघर्षरत अथक राजनीतिक योद्धा, वरिष्ठ पत्रकार, राज्यसत्ताबाट लेखकीयसजायँ, तीनवटा स्वतन्त्र चिनारीको भूमिका निर्वाहको अनुभवजन्य अध्ययन पद्धतिले देखेका भेटेका अकाट्य तथ्य परिणाम किटान गर्न सक्छु । यहाँ नेरी एउटा गीतावचन जोडिहालौँ । कुनै पनि राजनीतिकर्मी त्यो दुरदृष्टि राख्दैन भने त्यो राजनेता हुन सक्दैन । र दुरदृष्टि उपलब्ध हुनका लागि उसको अन्तर्य निस्वार्थी चोखो हुनै पर्छ ।
तथ्य इतिहास पाठ्यक्रमबाट कुरो सुरु गरौं । विसं २०४२ सालसम्म ‘धानचामल निर्यात कम्पनी’ का सरकारी साइनबोर्डहरू अधिराज्यव्यापी छ्याप्छ्याप्ती भेटिन्थ्ये । भृकुटी कागज कारखानाबाट उत्पादन भएको कागजबाट जापानले आफ्नो नोट छाप्दथ्यो । आज ८३ प्रतिशत खाद्यपदार्थलगायत उपभोग्य वस्तु विदेशबाट आयात भएर बिहान बेलुका छाक निर्वाह गर्नु परेको छ । ६४ प्रतिशत उब्जाउ जमिन बाँझै छन् । तीन करोड पनि जनसंख्या ननाघेको मुलुकका ८० लाख बलिया पाखुरी विदेश (खाडी मुलुक) मा रगत पसिना बगाएर पेट र परिवार पाल्न विवश छन् । गाउँबस्तीका आठ लाख घरहरू खण्डहरमा रूपान्तरण भएका छन् । हरेक नेपाली या भनौँ एउटा बालक जन्मनासाथ उसको टाउकोमा ३२ खर्बबढी वैदेशिक ऋणको भारी दाम्लो हुन्छ । या यसलाई यसरी पनि भन्न सकिन्छ हाम्रो स्वाभिमान र सार्वभौमिकता वैदेशिक ऋणको कारागारमा कैद छ ।
विगत ३५ वर्षको राजा ज्ञानेन्द्रको भाषामा दलहरूको खलबल दलदलमा यो हदसम्म टुपी समेत नदेखिने भाषमा आर्थिक अवस्था पुर्याउने मुख्य पात्र खलनायकहरूको सरल रूपमा सबैले छर्लङ्ग बुझ्ने गरि उदाहरणमा नाम लिनु पर्दा राजनीतिक नेतृत्व गिरिजाप्रषाद कोइराला र आर्थिक नेतृत्व डा. रामशरण महत हुन् ।
बहुदल आएर विसं २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर गिरिजाप्रषाद कोइराला प्रधानमन्त्री बनेपछि पाकिस्तानमा बहुराष्ट्रिय कम्पनीको जागिर छोडाएर नुवाकोटका डा. रामशरण महतलाई कांग्रेस सरकारको अर्थनीति हेर्ने कमान्डर बनाए । डा. महतको पहिलो नीति वक्तव्य थियो— ‘बीपीको समाजवाद थोत्रो भइसक्यो ।’ दोस्रो विश्वयुद्धपछि बेलायति उपनिवेश ‘इष्ट इण्डिया कम्पनी’को ठाउँ अक्षरंस अमेरिकी डोमिनेटेड ‘बहुराष्ट्रिय कम्पनी’ले लिएको पृष्ठभूमिमा ‘बीपीको समाजवाद थोत्रो भइसकेको’ भन्नु ‘खुला अर्थतन्त्र बजार प्रतिस्पर्धा’ बहुराष्ट्रिय कम्पनीको माखेसाङ्लोमा नेपालको अर्थतन्त्रलाई धकेल्नु थियो । त्यसपछि धमाधम खुला अर्थतन्त्र बजार प्रतिस्पर्धाको नाममा खासगरी राजा महेन्द्रको पहलमा चिनियाँ सहयोगबाट खडा भएका नाफामा चलेर लाखौँले रोजगारी पाइरहेका ठूलाठूला उद्योग कारखानाहरू धमाधम बेचियो । त्यसै बखत हो डा. महतको अर्को वक्तव्य आयो ‘कमिसन खानु लिगल हो ।’ त्यसउता पञ्चायतकालभरि त्यसरी कमिशन खानुलाई आर्थिक अपचलन अपराध मानिन्थ्यो र सजाय हुन्थ्यो ।
डा. रामशरण महतको त्यो ‘बजार प्रतिस्पर्धा’ कर्णप्रिय खुला अर्थनीतिको नारालाई त्यस बखत नै मैले युनान मिथक इशपनीति कथाको ‘साइरन सङ्गीत’सँग तुलना गरेर अखबारहरूमा लेख र मञ्चहरूमा बोलेको थिएँ । १२/१५ जनाको एक हुल साथीभाइ समुद्र यात्राको रमाइलो गरिरहेका थिए कि अनकन्टार कुनाबाट एउटा मिठो धुन आउँछ र त्यसै धुनमा लट्ठीएर नाविक त्यसैतर्फ एकोहोरिएर कहिल्यै पनि फर्किँदैनन् । यसैलाई इशपले ‘साइरन सङ्गीत’ को संज्ञा दिनुभएको छ । कांग्रेसको अर्थनीति हेर्ने डा. महतको त्यो साइरन सङ्गीत अहिलेसम्म पनि कति अवचेतन मनसम्म जरा गाडेको रहेछ भन्ने तत्कालीन कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले बाँसबारी छाला जुत्ता हामीले बेचेका हौँ, भृकुटी कागज कारखाना, गोरखकाली टायर उद्योग, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग (सेना, पुलिस लगायत श्रमिक किसानवर्गको पोशाक आपूर्ति गर्ने लक्ष थियो) लगायत आदि इत्यादि उद्योग कारखाना हामीले बेचेका हौँ भनेर छाती पिटिरहेका औँलो उठाइरहेकाबाट आँकलन गर्न सकिन्छ ।
खुला अर्थतन्त्र ‘बजार प्रतिस्पर्धा’ कर्णप्रिय नारालाई अलिकति दूरदृष्टि राखेर नियालेर हेर्दा परिणाम अहिलेको कांग्रेस, एमाले, माओवादी आदि इत्यादि दलहरू पुरिने र भाषिने खाल्डो र दलदल छर्लङ्गै थियो । १०/१५ जना बहुराष्ट्रिय कम्पनीका ठूला उद्योगपति व्यापारी मिलेर तँ यो–यो उत्पादन गर तँ यो यो व्यापार गर भनेर सेटिङ मिलाएपछि उपभोक्तामाथि जति मूल्यवृद्धि थोपरे पनि चुँ गर्ने ठाउँ भएन । यसरी मोनोपोली सेटिङको उत्पादन व्यापारमा मनलाग्दी महंगी थोपरिएर बेरोजगारी थेग्न नसक्दा नै नेपाल आमाले हालको थेग्नै नसक्ने कङ्गाली दुर्दशा झेल्नु भोग्नु परेको हो । दोलखाका भीमसेन देवताको सिलामा बारबार लगातार पसिना (आँशु) आइरहनुको मुख्य कारण नै नेपाल आमालाई थेग्न असह्य सकस कष्ट भइरहेको उल्लिखित कङ्गाली दुर्भाग्य नै हो ।
हो यहीँनेरी समयले खोजेको विचारधारा र माग अनुकुल नवजागरणले जिम्मेवारी सुम्पेका प्रधानमन्त्री बालेन्द्र शाहले एक क्षण र एक निमेश पनि ढिला नगरी बुझ्नु पर्ने आर्थिक नीति के भने डा. रामशरण महतको ‘बजार प्रतिस्पर्धा’ मार्गदर्शन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ‘निजी क्षेत्र प्रोमोट’ बजेटमा एक रौँभर पनि फरक परिणाम नियति हुने वाला छैन । रामशरणको बजार प्रतिस्पर्धाले महंगी थेग्न नसकेर कोहराम मच्चेको थियो भने स्वर्णिमको ‘निजी क्षेत्र प्रोमोट’ले करको भार थेग्न नसकेर २३/२४ भदौ ०८१ को जेन्जी विद्रोहले मच्चाएको जस्तो कोलाहल मच्चिने पक्का छ । अर्थात् ऋषि धमलाको ‘म आज देखि प्रधानमन्त्री बालेन्द्र शाहको पक्का समर्थक भएँ’ बयान शैलीको स्वर्णिम वाग्लेको ‘निजी क्षेत्र प्रमोट’ बजेटले आजको अवस्था भन्दा झन थप तन्नम थप जटिल अवस्थामा पुर्याउने निश्चित छ ।
त्यसो हुँदा प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा बजेटको प्रश्नोत्तरमा समय बर्बाद गर्नु भनेको सर्वोच्च अदालतकी वरिष्ठ न्यायधीश सपना मल्लले प्रधानन्यायाधीशमा नियुक्ति पाइनँ भनेर सडकमा दुवै हातले विकनी छोपेर नृत्य प्रदर्शन गरिरहेको भन्दा फरक केही होइन । मुख्य चुनौती अलिकति दूरदृष्टि राख्दा सबै छर्लङ्ग देख्न सकिन्छ । आफ्नो इतिहासको ठीक अध्ययन नपुगेर केही अलमल भए पनि यतिखेर मुलुकमा बोधराज न्यौपाने शैलीका डा. ध्रुवलाल श्रेष्ठ, भाइराजा पाण्डे, डा. प्रेम घा मगर आदि इत्यादि ‘पृथ्वीपथ’ का एकसेएक ज्ञाता विज्ञहरू मुलुकभरि छ्याप्छ्याप्ती उपलब्ध हुन थाल्नुभएको छ । सर्वप्रथम प्रधानमन्त्री बालेन बाबुको ध्यान यतातिर केन्द्रित हुन थाल्नुपर्छ भन्ने पंक्तिकारको सहृदयी सल्लाह हो । अस्तु ।