काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको साधारण सेयरको बिक्री खुलेको छ । कम्पनीको यही जेठ ८ गतेबाट साधारण सेयरको बिक्री खुला भएको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा साधारण सेयर जारी गरिसकेको कम्पनीले अब सर्वसाधारणको सेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी एम अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात् ४९ करोडबराबर प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई तीन लाख ५० हजार कित्ता बाँडफाँट गरिसकेको छ ।
कम्पनीले बाँकी सेयरमध्ये सामूहिक लगानी कोषलाई एक लाख ७५ हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई एक लाख पाँच हजार कित्ता सुरक्षित गरी बाँकी रहने २८ लाख ७० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही जेठ १३ गते र ढिलोमा यही जेठ २२ गतेसम्म कायम रहनेछ ।