काठमाडौं । महालक्ष्मी विकास बैंकले बिहीबार ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा यही जेठ २ देखि ७ गतेसम्म वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।
वार्षिक कार्यक्रमअन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरूमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ सेवाहरूः जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित विषयवस्तुहरू समेटिएको थियो ।
यसैगरी जेठ ४ गते बैंकको केन्द्रीय कार्यालयमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा जेठ ५ गते निःशुल्क दन्त तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । उक्त शिविरहरूमा करिब दुई सय जना व्यक्तिहरूको स्वास्थ्य, आँखा तथा दाँतको परीक्षण गरिएको थियो । यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते देश भरका विभिन्न प्रादेशिक कार्यालय र बैंकको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरूमार्फत २०० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३२औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरू सञ्चालन गरेको हो । सोही दिन बैंकले सस्ंकृति प्रवर्द्धन तथा मन्दिर सरसफाइलाई प्राथमिकतामा राखी विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरूमा सरसफाइलगायतका सामाग्रीहरू हस्तान्तरण गरेको छ । साथै ललितपुर महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा बगैँचा प्रबर्द्धन/मर्मत सम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रवर्द्धनको लागि समेत बैंकले सहयोग गरेको छ ।
साथै बैंकले जेठ सात गते बिहीबार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरूमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभूषाको प्रहसन समेत गरेको थियो । सोही दिन श्री नारायणहिटी नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी व्यवस्थापनको लागि पानी ट्याङकी हस्तान्तरण गरिएको छ । अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले स्थानीय साना तथा मझौला व्यापारहरूको प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ हरेको वर्ष आयोजना गर्दै आएको ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता’मा संकलन गरिएका फोटोहरू समेत बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको छ ।