काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले योजना कार्यान्वयन साझेदार संस्था राडो नेपालसँगको सहकार्यमा हेटौंडामा समुदायमुखी पहलको शुभारम्भ गरेको छ ।
हेटौंडा–३, बसामाडीस्थित सिमलथलीमा ‘सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण’ नामक समुदायमुखी पहलको शुभारम्भ गरेको हो । यस परियोजनाको मुख्य उद्देश्य स्थानीय समुदायको सहभागितामार्फत नेपालमा जल संरक्षणसम्बन्धी गतिविधिहरूलाई सुदृढ बनाउनु रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले स्थानीय महिलाहरूलाई बिरुवा तथा रुखका बेर्ना हस्तान्तरण गरी पहलको सुरुवाग गरेका थिए । कार्यक्रममा युनिलिभर नेपाल, राडो नेपाल, स्थानीय सरकारी निकाय, नागरिक समाजका संस्था तथा स्थानीय लाभग्राही, स्थानीय महिलाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जल संरक्षणका लागि जलवायु परिवर्तनसँग जुध्ने क्षमता निर्माण तथा स्थानीय पारिस्थितिक प्रणालीको संरक्षणमा सामूहिक पहलको महत्वमा जोड दिइएको थियो । राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले जलवायु जोखिमको सामना गर्न समुदायको नेतृत्व आवश्यक रहेको बताए । ‘वातावरणीय सबलता एक्लो प्रयासबाट निर्माण हुन सक्दैन। यसका लागि समुदाय, संस्था र जिम्मेवार साझेदारहरूको सक्रिय सहभागिता आवश्यक हुन्छ’, उनले भने ।