काठमाडौं । ग्लोबल आईएमई बैंकका एक कर्मचारीको आत्महत्या घटनापछि बैंकका उच्च व्यवस्थापनका चार जना अधिकारीविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को आरोपमा जाहेरी दर्ता भएको छ । मृतकका बुवाले जिल्ला प्रहरी कार्यालय झापाअन्तर्गत इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गराउँदै बैंक व्यवस्थापनकै मानसिक तनाव र दबाबका कारण आफ्नो छोराले आत्महत्या गर्न बाध्य भएको आरोप लगाएका छन् ।
दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोल निवासी ६४ वर्षीय महेश कुमार खड्काले आफ्ना ४२ वर्षीय छोरा पिताम्बर खड्काको मृत्युमा बैंकका उच्च अधिकारीहरूको प्रत्यक्ष भूमिका रहेको दाबी गरेका छन् । जाहेरीमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, उपमहाप्रबन्धक दिपचन्द्र रेग्मी तथा मानव संसाधन विभाग प्रमुख अनामिका कुँवर सिंहलाई विपक्षी बनाइएको छ । जाहेरीअनुसार पिताम्बर खड्का विगत केही वर्षदेखि बैंकमा कार्यरत थिए । इलाम र चारआली शाखामा सफल कार्यकाल पूरा गरेपछि उनलाई विभिन्न बहानामा मानसिक तनाव र दबाब दिन थालिएको आरोप लगाइएको छ । बैंक व्यवस्थापनले झुटा आरोप लगाउँदै विकट जिल्लामा सरुवा गरिदिने धम्की दिएको, साथै तत्काल राजीनामा दिन निरन्तर दबाब सिर्जना गरिएको दाबी जाहेरीमा उल्लेख छ ।
उक्त मानसिक तनावका कारण पिताम्बरले तीन महिनाअघि नै बैंकको केन्द्रीय कार्यालयमा राजीनामा बुझाएका थिए । तर, राजीनामा तत्काल स्वीकृत नगरी उनलाई चारआली शाखाबाट विराटनगर शाखामा ‘सिनियर अधिकृत’ पदमा बढुवासहित सरुवा गरिएको बताइएको छ । विराटनगर प्रदेश कार्यालयमा हाजिर भएपछि पनि तीन महिनासम्म कुनै जिम्मेवारी नदिई ‘पेन्डिङ’ राखेर मानसिक रूपमा थप प्रताडित गरिएको परिवारको आरोप छ । जाहेरीमा उल्लेख भएअनुसार गत २०८३ जेठ ४ गते बैंक बिदा रहेको दिन, घरमै रहेका बेला पिताम्बरले तीन महिनाअघि दिएको राजीनामा अनलाइनमार्फत अचानक स्वीकृत भएको जानकारी पाएका थिए । त्यसपछि उनी थप मानसिक तनावमा पुगेको परिवारको भनाइ छ ।
सोही दिन दिउँसो करिब १ बजे उनले आफ्नो फेसबुक अकाउन्टमा बैंकका ती चार जना अधिकारीहरूको फोटो राख्दै ‘यी चार जनाले मलाई मर्न बाध्य बनाएको’ भन्ने आशयको स्टाटस पोस्ट गरेका थिए । त्यसको केही घण्टापछि साँझ करिब ५ः१५ बजे दमक–८ स्थित आफ्नै घरको दोस्रो तलाको स्टोर कोठामा प्लास्टिकको डोरीको पासो लगाई आत्महत्या गरेको अवस्थामा फेला परेको जाहेरीमा उल्लेख गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ । यता, बैंक व्यवस्थापनको तर्फबाट भने हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।