काठमाडौं । विदेशी लगानीकर्ताले पछिल्लो १० महिनामा पौने १८ अर्ब रुपैयाँ लाभांश लगेका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म १७ अर्ब ७९ करोड ५३ लाख अर्ब लाभांश वितरण गरिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ दशमलव ३२ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको वैशाख मसान्तसम्म नौ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो । विभागका निर्देशक एवं सूचना अधिकारी सुरेश दाहालका अनुसार विदेशी लगानीकर्ताले लगानी प्रतिफलस्वरूप उक्त लाभांश रकम लगेका हुन् । लगानी प्रतिफलस्वरूप मासिकरूपमा करोडौँ लाभांश विदेशी लगानीकर्ताले लैजाने गरेको उनले जानकारी दिए । विदेशी लगानीकर्ताहरूले साना, मझौला र ठूला उद्योगहरूमा लगानी गरेबापत लाभांश लगेका हुन् ।
उनीहरूले लगानी प्रस्ताव विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखांकन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू छन् । त्यसपछि आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका लगानीकर्ताले धेरै लाभांश लगेका छन् ।
विभागले वैदेशिक लगानीकर्तालाई लाभांश मात्र वितरण नगरी राजस्व समेत संकलन गर्दै आएको छ । विभागले वैदेशिक लगानीबापत चालू आर्थिक वर्षको वैशाखसम्म पाँच अर्ब नौ करोड ७३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा तीन अर्ब ५७ करोड ८८ लाखले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा भने एक अर्ब ५१ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरिएको थियो । यसैबीच विभागले प्रत्येक महिना करिब दुई करोड रुपैयाँदेखि करिब ६० करोड रुपैयाँबरारबर राजस्व संकलन गर्दै आएको छ । विभागले लाभांश वितरण राजस्व संकलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) लगायतका कामहरू गरेको छ ।
निर्देशक दाहालले समीक्षा अवधिमा विदेशी लगानीकर्ताले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको बताए । उनले चालू आर्थिक वर्षको वैशाखसम्म ४७ वटा उद्योगको लागि ११ अर्ब चार करोड २२ लाख रुपैयाँबराबरको सेयर खरिद सम्झौता र साझेदारी सदस्यता सम्झौता गरेका छन् । वैशाखमा मात्र पाँचवटा उद्योगका लागि नौ करोड ६७ लाख ९० हजार रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको वैशाखसम्म ४५ र वैशाखमा मात्र सातवटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ । यसैबीच नेपालमा लगानी गरी सकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ । विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ले सहजीकरण गरेको छ ।
विभागले आर्थिक वर्ष २०८१/८२ मा नौ अर्ब ६१ करोड ७० लाख, आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड ४५ लाख लाभांश लगेको जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी उत्पादन क्षेत्रमा लगानी गरेका लगानीकर्ताले लाभांश लगेका छन् । त्यसपछि क्रमशः सूचना प्रविधि, उत्पादन, पर्यटन र सेवा क्षेत्रमा लाभांश वितरण गरेको छ ।
यसैबीच नेपालमा लगानी गरिसकेपछि लगानी अर्थात् नाफा लैजान सहज भएकै कारण विदेशी लगानीकर्ताहरूले लाभांश लैजाने गरेको विभागले जनाएको छ । वदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ ।
राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।