काठमाडौँ । देशका विभिन्न स्थानमा हावाहुरीका कारण रुख ढल्दा अस्थायी रुपमा बिजुली आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतसम्भारको कामलाई तीव्र पारिएको छ ।
प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतको काम तीव्र पारिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा निरन्तर रूपमा खटिइ मर्मत तथा पुनःसञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेका छन्
तत्काल मर्मतको काम अगाडि बढाउन प्राधिकरणका पदाधिकारीलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले निर्देशन दिएका छन् ।
प्राधिकरणका अनुसार पिलुवा–पथलैया–चन्द्रनिगाहपुर खण्डको टावर नं १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएकामा उक्त रुख हटाउने कार्य सम्पन्न भइसकेको छ । हाल सर्किट चार्ज गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
आइतबार दिउँसोको हुरीले देशका विभिन्न स्थानमा बिजुली आपूर्तिमा समस्या आएको थियो । अमलेखगञ्ज–कामाने खण्डको टावर नं ४६–४७ बीच एक रुखका कारण प्रसारण लाइनको कन्डक्टरमा क्षति पुगेको छ । मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ र ‘स्ट्रिङिङ’ कार्य सुरु गरिएको छ । प्राधिकरणले सोमबार बिहानसम्म सहज रूपमा बिजुली आपूर्ति गराउने प्रयास भइरहेको जनाएको छ ।