काठमाडौं । काठमाडौंको बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८२ सालको एसईई पूरा गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
प्रतिष्ठानअन्तर्गत सञ्चालित अरुणिमा मावि बौद्धका एक सय चार, नव अरुणिमा मावि आरुबारीका ४८ र अरुणिमा शिक्षा सदन मावि महाङ्कालका ३० जना विद्यार्थीहरू गरी एक सय ८२ जना विद्यार्थीलाई सम्मान गरेको हो । उच्चतम जीपीए प्राप्त गर्ने विद्यार्थीहरू अदिती श्रेष्ठ, आयुषा न्यौपाने, तेन्जिला लामा, मानुषी चालिसे र समिप बुढाथोकी (नव अरुणिमा मावि, आरुबारी), प्रनभ पौडेल (अरुणिमा शिक्षा सदन मावि महाङ्काल) र रोनिका प्रधान (अरुणिमा मावि, बौद्ध)लाई नगद पुरस्कारसहित विशेष अभिनन्दन समेत गरिएको थियो । साथै सोही अवसरमा तीनै विद्यालयका विषयगत शिक्षक शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।