काठमाडौँ, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा गत ८ गते कास्की जिल्ला अदालतले फिर्ता लिएपछि राजनीतिक रूपमा राहत महसुस गरेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकाएक आफ्नो दिल्ली भ्रमण तय गरेपछि राजनीतिक वृत्तमा निकै चासो र चर्चा बढेको छ ।
अध्यक्ष लामिछानेले आगामी १८ गतेदेखि दुई दिने भारत भ्रमण गर्न लागेका हुन् । भारतीय विदेश मन्त्री एस जयशंकर र विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमण गर्न लाग्दा प्रधानमन्त्री बालेन्द्र शाहले भेट्ने समय नदिएपछि उनीहरूको भ्रमण एकाएक रोकेको थियो । विदेश सचिव मिस्रीलाई भेट्न प्रधानमन्त्री शाहले समय नदिएपछि हुने भनिएको विदेश मन्त्री शंकरको नेपाल भ्रमण पनि त्यसैगरी रोकिएको थियो । त्यसो त प्रधानमन्त्री शाहले अमेरिकी विशेष दूतलाई पनि नभेटी फर्काइदिएका छन् । उनले प्रोटोकल मिलाएर मात्र भेटवार्ता गर्ने अडान राख्दै आएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधन समेत बहिष्कार गरेर संसदीय मूल्य, मान्यता र परम्पराको समेत घोर अवज्ञा गरेको आरोप लागेका प्रधानमन्त्री शाहको व्यवहारको कारण दुई तिहाई बहुमतको सरकार बनाउने पार्टीका अध्यक्ष लामिछानेमाथि चौतर्फी रूपमा दबाब परिरहेको बेला उनले एकाएक आफ्नो भारत भ्रमण तय गरेपछि उनी प्रधानमन्त्री शाहको विशेष दूतका रूपमा सन्देश लिएर दिल्ली जान लागेका हुन् कि सत्ताको कार्ड खोल्न दिल्ली जान लागेका हुन् जनमानसमा यसैको चर्चा चुलिएको छ ।