दोलखा । सामान्यतया चैत–वैशाखको समय कम वर्षा हुने र खडेरी पर्ने भएकाले तरकारी खेतीका लागि अफसिजन मानिन्छ । यही समयमा दोलखाको भीमेश्वर नगरपालिका–४, जिलुका रमेश चौलागाईं र यशोदा चौलागाईं दम्पती भने अफसिजनमै गोलभेडा उत्पादन गरेर स्थानीय बजारको माग धानिरहेका छन् ।
पछिल्लो चार वर्षदेखि चौलागाईं दम्पतीले ‘आत्मनिर्भर अर्गानिक कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरी व्यावसायिक कृषि गर्दै आएका हुन् । उनीहरूले उत्पादन गरेको गोलभेडाको बजारमा राम्रो माग छ । करिब १० रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा ८० वटा प्लास्टिक टनेल निर्माण गरी गोलभेडा खेती गरिएको छ । वैशाखको अन्तिम सातादेखि नै गोलभेडा बजारमा पठाउन सुरु गरिएको रमेश चौलागाईं बताउँछन् । उनका अनुसार फार्मले स्थानीय ४–५ जनालाई रोजगारीसमेत दिएको छ । अफसिजनमै गोलभेडा तथा अन्य तरकारी उत्पादनबाट वार्षिक करिब ४० लाख रुपैयाँसम्म आम्दानी भइरहेको उनको भनाइ छ । यो समयमा जिल्लामा गोलभेडाको उत्पादन कम हुने भएकाले बजारमा तराई तथा भारतबाट आयातित गोलभेडा आउने गरेको छ । तर चौलागाईं दम्पतीको उत्पादनले बाहिरी आयात घटाउँदै स्थानीय बजारलाई सहज बनाइरहेको छ ।
आफैं गर्दैछन् बजारीकरण
उत्पादनसँगै बजारीकरणको जिम्मा पनि चौलागाईं दम्पतीले आफैं सम्हालिरहेका छन् । पछिल्लो एक सातामात्र करिब ४ सय किरेट गोलभेडा विभिन्न बजारमा पठाइएको रमेशले बताए । उनका अनुसार हरेक साता सदरमुकाम चरिकोटमा १२० देखि १३० किरेट, जिरीमा ३०–३५ किरेट, सिंगटीमा १० किरेट, मैनापोखरीमा २० किरेट तथा मागअनुसार किर्ने, खुम्ती, मन्थलीलगायत अन्य बजारमा गोलभेडा पठाइँदै आएको छ । करिब ८ देखि १० लाख रुपैयाँको लगानीबाट सुरु गरिएको व्यवसायबाट आफू सन्तुष्ट रहेको उनले बताए ।
जिलुमा पहिलोपटक मक्समेलन र हनिमेलन उत्पादन
गोलभेडा खेतीसँगै चौलागाईं दम्पतीले जिल्लामै पहिलोपटक विदेशी फल ‘मक्समेलन’ र ‘हनिमेलन’ को उत्पादन पनि सुरु गरेका छन् । यो वर्ष परीक्षणका रूपमा लगाइएको दुई सयवटा बोटबाट राम्रो उत्पादन भएको रमेशले बताए । राजधानीका स्टार होटलहरूमा विशेष परिकार तथा सलादका रूपमा प्रयोग हुने यी फल जिल्लामै पहिलोपटक उत्पादन गरी बिक्री सुरु गरिएको हो । खर्बुजा जातका यी फल चरिकोट बजारसम्म पुगिसकेको र अब काठमाडौं निर्यात गर्ने तयारी भइरहेको उनले बताए । भारतमा प्रतिकेजी ५ सयदेखि ७ सय रुपैयाँसम्म बिक्री हुने यी फल काठमाडौंमा प्रतिकेजी करिब १ हजार ५ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
करिब पाँच वर्षदेखि निरन्तर कृषि व्यवसायमा सक्रिय भए पनि आफूले हालसम्म पर्याप्त सरकारी सहयोग नपाएको रमेशको गुनासो छ । उनका अनुसार वडाबाट सामान्य सहयोग पाए पनि प्रदेश तथा संघीय सरकारबाट सहयोग प्राप्त भएको छैन । स्थानीय तहले व्यवसाय प्रवर्द्धनका लागि केही सहयोग गरेको उनले बताए । भीमेश्वर नगरपालिका–४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता तारानाथ चौलागाईंले स्थानीय कृषि व्यवसायलाई प्रवर्द्धन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । गतवर्ष करिब एक लाख रुपैयाँ बराबरको तरकारी खेती प्रवर्द्धन कार्यक्रम उपलब्ध गराइएको उनले जानकारी दिए । आगामी बजेटमा पनि चौलागाईं दम्पतीको व्यवसायलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।