काठमाडौं । ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले ‘भोल्टेक्स’ सिरिज अन्तर्गतका नयाँ ब्याट्रिहरू नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार ‘भोल्टेक्स’ सिरिज आफ्ना सम्पूर्ण उत्पादनमा एकरूपता कायम गर्ने, ब्रान्डिङलाई थप सशक्त बनाउने तथा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ बजारमा ल्याइएको हो । आधुनिक प्रविधि, टिकाउपन र उत्कृष्ट प्रदर्शनलाई प्राथमिकतामा राखेर उत्पादन गरिएको यो सिरिजले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ । यस्तै कम्पनीले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । क्रिकेटर दिपेन्द्र सिंह ऐरीले एशियन ब्याट्रीजस्तो गुणस्तरीय नेपाली ब्राण्डसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको बताए । कार्यक्रमका क्रममा कम्पनीको ब्राण्ड विकास, बजार विस्तार तथा बिक्री प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न रिटेलर तथा डिष्ट्रिब्युटरलाई विशेष अवार्ड तथा सम्मान प्रदान गरिएको थियो ।
कम्पनीका चेयरमेन सुरेश लोहनीले नेपाली अटोमोबाइल क्षेत्रमा एशियन ब्याट्रीले उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए । उनले अटोमोटिभ क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्दै कम्पनीले निरन्तर नवीन प्रविधिमा आधारित उत्पादनहरू ल्याउने योजना रहेको जानकारी दिए । एशियन ब्याट्रीले बजाज, हिरो, सेभ्रोले, फोर्ड, होण्डा र इसुजुजस्ता अन्तर्राष्ट्रिय अटोमोटिभ ब्राण्डलाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीका अनुसार प्रत्येक ब्याट्रीलाई बजारमा ल्याउनुअघि कडा परीक्षण प्रक्रियाबाट गुजारिने भएकाले उत्पादन टिकाउ, भरपर्दो र उच्च प्रदर्शनयुक्त हुने गरेका छन् । साथै, देशभर फैलिएको सेवा सञ्जालमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग समेत प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । स्वदेशी उद्योगको रूपमा सुरु भएको एशियन ब्याट्रिजले अहिले अन्तर्राष्ट्रिय बजारतर्फ समेत आफ्नो उपस्थिति विस्तार गरिरहेको छ ।