दोहा । शीर्ष वार्ताकार र केन्द्रीय बैंकका प्रमुखसहितको उच्चस्तरीय इरानी प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौता र रोक्का गरिएको कोषको रिहाइबारे छलफल गर्न सोमबार दोहामा पुगेको एक विश्वस्थ स्रोतले एएफपीलाई जानकारी गराएको छ ।
‘द्वन्द्व अन्त्यका लागि जारी कूटनीतिक प्रयासबारे वार्ताका लागि इरानी सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची सोमबार दोहा आइपुग्नुभएको छ’, संवेदनशील कुरा भएकोले स्रोत उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भनेको छ, ‘यो भ्रमण हर्मुज घाँटी भएर हुने आवागमन र अत्यधिक संवर्धित युरेनियमसँग सम्बन्धित मुद्दाहरूमा केन्द्रित हुनेछ ।’
एएफपीका अनुसार प्रतिनिधिमण्डलमा विदेशमा रोक्का इरानी सम्पत्तिको विषयमा छलफल गर्ने उद्देश्यले इरानको केन्द्रीय बैंकका गभर्नरलाई पनि समावेश गरिएको छ । यो विषय अमेरिका र इरानबीच पाकिस्तानी मध्यस्थतामा भएको सम्झौताका लागि तयार गरिएको एक खाकाका रूपमा एक समझदारी पत्रमा सम्बोधन गरिएको छ ।
इरानको सरकारी समाचार एजेन्सी आइआरएनएले भ्रमणको पुष्टि गर्दै भनेको छ, ‘यो भ्रमण कूटनीतिक प्रक्रियाको एउटा हिस्साका रुपमा हुन लागेको हो ।’ इरानका अन्य सञ्चारमाध्यम तास्निम र फार्स न्यूज एजेन्सीहरूले प्रतिनिधिमण्डलमा इरानी विदेश मन्त्री अब्बास अराघची, केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेमती पनि रहेको पुष्टि गरेका छन् ।
फार्सका अनुसार वाशिङ्गटनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू अन्तर्गत विदेशमा रोक्का गरिएको तेहरानको कोषको केही हिस्सा जारी गर्ने र हर्मुज नाकाबन्दी अन्त्य गर्ने शर्तमा इरानी बन्दरगाहहरूमा यात्रा गर्ने जहाजहरूको नौसैनिक नाकाबन्दी अन्त्य गर्न सहमति जनाएको छ । सन् २०२३ मा दक्षिण कोरियाली बैंकहरूबाट रोक्का गरिएको छ अर्ब डलर इरानी कोष इरानले बन्धक गरेका पाँच अमेरिकी नागरिकहरूको रिहाइको शर्तमा कतारमा राखिएको थियो ।
हमासको सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि वासिङ्टन र तेहरानबीच सम्बन्ध बिग्रिएपछि यो रकम कहिल्यै जारी गरिएको थिएन । अमेरिका र इरानबीचको शान्ति वार्तामा पाकिस्तान अहिलेसम्म मुख्य मध्यस्थकर्ताको रुपमा रहँदै आएको छ । अप्रिल ८ मा युद्धविराम लागू भएदेखि जारी वार्ताको उद्देश्य युद्धलाई व्यापक रूपमा अन्त्य गर्नु र स्ट्रेट अफ हर्मुज पुनः खोल्ने हो ।
विगतमा इरान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गरेको कतारले हालैका हप्ताहरूमा वार्ताका लागि दबाब दिन बढ्दो भूमिका खेलेको देखिन्छ । यस महिनाको सुरुमा शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले संयुक्त राज्य अमेरिकामा शीर्ष अमेरिकी कूटनीतिज्ञ मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्ससँग युद्ध अन्त्यका लागि कूटनीतिक पहलमा जोड दिन बैठक गरेका थिए ।
इरानले गत फेब्रुअरी २८ देखि इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणको जवाफमा कतारलगायत खाडी मुलुकविरुद्ध क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो । विश्वको तेल र प्राकृतिक ग्यासको पाँच भागको लगभग एक भाग सामान्यतया स्ट्रेट अफ हर्मुजको नाका भएर जान्छ, यसले कतारको खाना पकाउने ग्यास (एलएनजी) निर्यातसहित ऊर्जा–समृद्ध खाडीको लागि महत्त्वपूर्ण समुद्री निर्यात पनि रोकेको छ । यसले खाडी क्षेत्रको साथै विश्वको अर्थव्यवस्थालाई तनाव दिएको छ ।