काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई कन्सुलर सेवा प्रदान गर्न ‘मोफा मित्र’ मोबाइल एप संचालनमा ल्याएको छ ।
कन्सुलर सेवा विभागले तयार पारेको उक्त मोबाइल एपको मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालले शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ गर्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरे । सार्वजनिक सेवालाई थप सहज र नागरिकमैत्री बनाउन एप प्रभावकारी हुने उनको भनाइ छ । विदेशमा काम गर्न जानेहरू गएको देशका नियम, कानुनका विषयमा जानकारी नहुने भएकाले कन्सुलर सेवाको काम बढेको छ । उनले भने, ‘विदेशमा रहेकाका आफन्तलाई कुनै जानकारी दिन पनि यो सेवा सहयोगी हुने छ ।’ यो सेवा ७७ वटै जिल्ला प्रशासन कार्यालय, विदेशस्थित सबै कूटनीतिक नियोगमा पनि पुगिसकेको उनले बताए । कानुनी सेवा अहिले ५०० स्थानीय तहमा पुगिसकेको जानकारी दिँदै उनले सबै स्थानीय तहमा लैजाने तयारी भएको बताए ।
‘मोफा मित्र’ मोबाइल एपबाट सहजरूपमा अनलाइन निवेदन दिन सकिने व्यवस्था गरिएको छ । यसबाट सम्बन्धित नियोगबाट थप सहयोग लिन सकिने व्यवस्था एपमा गरिएको छ । अनौपचारिक रूपमा भारतमा रहेका नेपाली बाहेक विधिवत् रूपमै ५० लाख नेपाली विभिन्न सेवामा विदेशिएका छन् । अप्ठ्यारो परेका विषयमा मोबाइल एप डाउनलोड गरेर गुनासो पनि राख्न सकिने उनले बताए ।
विभागका महानिर्देशक दुरपदा सापकोटाले विदेशमा रहेका नेपालीको हक हितको संरक्षण र अप्ठ्यारो परेका बेला सहयोग लिन एप प्रयोग हुने बताइन् । एप र मोबाइल प्रणालीमा लिंक गरिएको उनको भनाइ छ । शव व्यवस्थापन, क्षतिपूर्ति, बीमा दाबीलगायत विषयका लागि एपबाट सहज हुने विश्वास गरिएको छ । विदेश जाने नेपालीको संख्या बढिरहेकाले यो एप प्रभावकारी हुनेछ ।
विभागका सूचना प्रविधि अधिकृत नवीनकुमार झाले विदेशमा भएका नेपाली नागरिक लक्षित मोबाइल एप आएको बताए । यसबाट सोधपुछ, उद्धार, गुनासो, शव व्यवस्थापनलगायत सेवा लिन सकिन उनको भनाइ छ । मोबाइल एपबाट अपडेट गरेपछि सेवा लिनुपर्ने सम्बन्धित नियोगमै जाने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए । एपबाट निवेदन गरेपछि के के हुन्छ, मोबाइलबाट हेर्न सकिने गरी व्यवस्था गरिएको छ ।