काठमाडौं । नेपालमा दिगो पर्यटन प्रवर्द्धन गर्न ५ वर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार गरिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)’ अन्तर्गत नेपालमा दिगो पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘इन्टरनेसनल मार्केटिङ स्ट्राटेजी एन्ड फाइभ इयर एक्सन प्लान’ तयार पारेको हो । नेपाललाई विश्व पर्यटन बजारमा प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न प्रभावकारी बजारीकरण रणनीति अपरिहार्य रहेको एसटीपीका राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाहले बताए । पर्यटन प्रवर्द्धनका लागि स्पष्ट रणनीति र समन्वित प्रचार आवश्यक रहेको उनको भनाइ छ ।
रणनिति तयार पार्ने परामर्शदाता संस्था ‘बीड’का प्रमुख कार्यकारी अधिकृत सुजिव शाक्यले सन् २०२६ देखि २०३० सम्म कार्यान्वयन हुने उक्त रणनीतिले नेपाल पर्यटनलाई संख्यामा आधारित मोडलबाट मूल्यआधारित पर्यटनतर्फ रूपान्तरण गर्ने लक्ष्य राखेको जानकारी दिए । रणनीतिमा बजार विश्लेषण, उपभोक्ता व्यवहार विश्लेषण, प्रतिस्पर्धात्मक विश्लेषण तथा वितरण प्रणाली गरी चार मुख्य पक्ष समेटिएका छन् । योजना निर्माण प्रक्रियामा १३५ जना सरोकारवालासँग परामर्श गर्नुका साथै छवटा लक्षित समूह छलफल गरिएको जनाइएको छ । यस रणनीतिले विश्व पर्यटनका नयाँ प्रवृत्ति, नेपालको पर्यटन अवस्था तथा पर्यटन निर्भरताका छवटा आधारस्तम्भको विश्लेषण गरेको छ । यसका साथै नेपाललाई साहसिक पर्यटन गन्तव्यका रूपमा मात्र नभई संस्कृति, अध्यात्म, आरोग्य, प्रकृति तथा दिगो पर्यटन अनुभवको केन्द्रका रूपमा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिएको छ ।
उक्त रणनितिका सम्बन्धमा हालै कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐयरले नेपालका सीमावर्ती सहरहरूमा पर्यटन क्षेत्रमा ठूलो लगानी भइरहेको भए पनि समन्वित मार्केटिङ रणनीतिको अभाव रहेको बताए । उनले काठमाडौंबाहिरका सहरहरूलाई पर्यटन सञ्जालमा जोड्न बोर्डले विभिन्न पर्यटन मार्टहरू आयोजना गर्दै आएको जानकारी दिए । यूएनडीपीका सहायक आवासीय प्रतिनिधि धर्म स्वर्णकारले नेपालको समृद्धिको आधार नै पर्यटन भएको उल्लेख गर्दै यसलाई पुँजीमा रूपान्तरण गर्न अझै चुकिरहेको टिप्पणी गरेका छन् । उनले भने, ‘नेपालको पर्यटनका विविध आयाम भएका कारण संख्या पनि उत्तिकै महत्वपूर्ण छ । तर, अझै मूल्यमा आधारित पर्यटन रणनीति नै आजको आवश्यकता हो ।’ एसटीपीका परियोजना प्रबन्धक धर्मराज दवाडीले कार्यशालाबाट प्राप्त सुझावलाई समेत समेटेर यस रणनीतिलाई अन्तिम रूपमा दिने जानकारी दिए । उनले नेपाल पर्यटन बोर्डको भावि अन्तर्राष्ट्रिय मार्केटिङ रणनीति परिमार्जन गर्न तथा नेपाललाई दिगो पर्यटन गन्तव्यका रूपमा विश्व बजारमा थप प्रभावकारी रूपमा स्थापित गर्न यो रणनीतिले सहयोग पुर्याउने बताए ।