काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिइन् । बोर्डको बढ्दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उनको भनाइक छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा ३६ वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए । उनका अनुसार बोर्डमा ५०५ स्वास्थ्य संस्थामध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था बीमा बोर्डमा आबद्ध छन् । बोर्डको संकट टार्नका लागि व्ययभार तत्कालका लागि निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको उनले बताए ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच परिवारसम्मका लागि तीन हजार ५ सय रुपैयाँ बराबरको योगदानका आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रतिसदस्य ७ सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ बीमित रहेका छन् ।