काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा लागनी विस्तार गर्न साउदी अरबलाई आग्रह गरेका छन् । अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी, सूचना प्रविधिलगायतका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै लगानी गर्न आग्रह गरे ।
उनले हालै सम्पन्न निर्वाचनपछि स्थिर सरकार बनेकाले निजी क्षेत्र उत्साहित रहेकोले नेपालमा साउदी लगानी विस्तार गर्न आग्रह गरे । नेपालका लागि साउदी अरबका राजदूत फाहद मोहम्मद ए मनिकरसंग भएको छलफलमा उनले साउदी अरेबिया नेपालका लागि अत्यन्त महत्वपूर्ण आर्थिक साझेदार रहेको बताए । विशेषगरी वैदेशिक रोजगारी, विप्रेषण (रेमिट्यान्स) तथा लगानीका सम्भावनाका कारण साउदी अरेबियाको भूमिका नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको उनको भनाइ थियो । हाल नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय व्यापार करिब १० मिलियन अमेरिकी डलर रहेको जानकारी दिँदै उनले करिब ९ मिलियन डलर बराबरको आयात तथा १ मिलियन डलर बराबरको निर्यात भइरहेको बताए । श्रम सहकार्यमा मात्र सीमित नभई व्यापार, पर्यटन, लगानी तथा आर्थिक विकासका क्षेत्रमा समेत सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।
खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै उनले साउदी अरेबियाले हजारौं नेपाली युवालाई रोजगारी प्रदान गर्दै आएको बताए । निर्माण, पूर्वाधार, सुरक्षा सेवा, आतिथ्य तथा पर्यटन, स्वास्थ्य सेवा, यातायात तथा लजिस्टिक्स क्षेत्रमा नेपालीहरू कार्यरत रहेको जानकारी दिए । साउदी अरेबियाको ‘भिजन २०३०’ कार्यक्रमले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै नियोम, द रेड सी परियोजना तथा क्युदिया जस्ता मेगा परियोजनाहरूमा नेपाली जनशक्ति, ठेकेदार तथा सहयोगी उद्योगहरूले योगदान दिन सक्ने बताए ।
सो क्रममा राजदूत मनिखरले साउदी अरेबिया विदेशी लगानी तथा आर्थिक साझेदारीका लागि खुला हुँदै गएको बताए । आगामी सन् २०३४ को फिफा विश्वकप तथा एक्स्पो २०३० जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विभिन्न क्षेत्रमा लगानी सहकार्यका थप अवसर सिर्जना गर्ने उनको भनाइ थियो । साउदी अरबमा पछिल्लो समय अन्तराष्र्टिय कम्पनीहरू भित्रिने क्रम बढेको तथा विदेशी लगानी थप आकर्षित हुँदै गएको बताए । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले नेपालमा लगानीको वातावरण अत्यन्तै सकारात्मक बन्दै गएको बताए ।