काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ का लागि केपीएमजी इन्डियालाई परामर्शदाता नियुक्त गरेको छ । नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको एनएफआरएस १७ कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्न यस्तो निर्णय गरेको इन्स्योरेन्सले जनाएको छ । नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृतिपश्चात् कम्पनीले विश्वव्यापी रूपमा प्रतिष्ठित परामर्शदाता संस्था केपीएमजी एस्येरेन्स एन्ड कन्सल्टिङ सर्भिस एलएलपीलाई एनएफआरएस १७ कार्यान्वयन परामर्शदाताका रूपमा नियुक्त गरेको हो ।
केपीएमजी विश्वका प्रमुख बिग फेर व्यावसायिक सेवा प्रदायक संस्थामध्ये एक हो, जसले एस्येरेन्स एन्ड कन्सल्टिङ, ट्याक्स तथा रिस्क एडभाइजरी सेवामा उच्चस्तरीय विशेषज्ञता प्रदान गर्दै आएको छ । यसको बलियो अन्तर्राष्ट्रिय सञ्जाल, अनुभवी पेशागत जनशक्ति, उच्च नैतिक मानक तथा नवीनतम अन्तर्राष्ट्रिय अभ्यासमा आधारित कार्यशैलीका कारण केपीएमजी विश्वभरका बैंक, बीमा कम्पनी तथा ठूला संस्थाहरूका लागि एक विश्वसनीय र स्थापित साझेदारको रूपमा पहिचान बनाएको छ ।
विशेषगरी आइएफआरएस १७÷एनएफआरएस १७ जस्ता जटिल वित्तीय प्रतिवेदन मापदण्डहरूको कार्यान्वयनमा केपीएमजीको अन्तर्राष्ट्रिय अनुभव तथा प्राविधिक दक्षता अत्यन्त महत्वपूर्ण मानिन्छ । दक्षिण एसिया क्षेत्र, विशेषगरी भारतमा यसको सशक्त उपस्थिति तथा स्थानीय बजारको गहिरो समझले नेपालजस्ता विकासोन्मुख बजारमा समेत यसको परामर्श सेवाप्रति उच्च विश्वास र स्वीकार्यता स्थापित भएको इन्स्योरेन्सले जनाएको छ ।
यस नियुक्तिसँगै सिटिजन लाइफ इन्स्योरेन्सले एनएफआरएस १७ कार्यान्वयनमा अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञता प्राप्त गर्नुका साथै ज्ञान हस्तान्तरणमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्नेछ। सम्झौता अवधि साढे तीन वर्ष रहने छ, जसअन्तर्गत प्रारम्भिक कार्यान्वयन चरण तथा त्यसपछि तीन वर्षसम्म पोस्ट–इम्प्लिमेन्टेसन सपोर्ट सेवासमेत समावेश हुनेछ। यसले प्रणालीको दीर्घकालीन स्थायित्व, निरन्तर प्राविधिक सहयोग तथा संस्थागत दक्षताको दिगो विकास सुनिश्चित गर्ने कम्पनीले विश्वास लिएको छ ।
यो कार्यले सिटिजन लाइफ इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय लेखा तथा वित्तीय प्रतिवेदन मापदण्डअनुरूप अझ सुदृढ, पारदर्शी तथा विश्वसनीय बीमा संस्थाको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।