काठमाडौ । नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत अशोक लेल्याण्डका १० वटा कैदी वाहक गाडी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
वीरगञ्जमा आयोजित एक कार्यक्रममा आईएमई मोटर्सका उपमहाप्रबन्धक (डीजीएम) सुशील सुबेदीले भारतका महावाणिज्यदूत देवी सहाय मीनालाई औपचारिक रूपमा सवारी साधनहरू हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा भारतका महावाणिज्यदूत देवी सहाय मीनाले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सवारी साधनहरू औपचारिक रूपमा हस्तान्तरण गरेका थिए । विशेष सुरक्षा प्रयोजनका लागि तयार गरिएका अशोक लेल्याण्ड पार्टनर गाडीहरू आधुनिक प्रविधि, मजबुत संरचना तथा भरपर्दो कार्यसम्पादनका लागि परिचित छन् । कैदी ओसारपसार तथा सुरक्षा व्यवस्थापनलाई थप सुरक्षित र व्यवस्थित बनाउन लक्षित यी गाडीहरूमा आधुनिक क्यामेरा प्रणाली जडान गरिएको छ, जसले निगरानी तथा सुरक्षा नियन्त्रणलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ । उच्च सुरक्षा मापदण्ड तथा व्यावहारिक डिजाइनका कारण यी गाडीहरू सरकारी तथा संस्थागत प्रयोगका लागि उपयुक्त सवारी समाधानका रूपमा हेरिएको छ ।
यससँगै नेपाल–भारत सहयोग अन्तर्गत हालसम्म अशोक लेल्याण्डका कुल ६० वटा सवारी साधन हस्तान्तरण गरिएका छन् । यसअघि ५० वटा मालवाहक गाडी हस्तान्तरण गरिएको थियो भने हाल थप १० वटा कैदी वाहक गाडी उपलब्ध गराइएको हो । नेपालमा सन् २०१६ देखि आईएमई मोटर्सले विश्वप्रसिद्ध तथा उच्च गुणस्तरका लागि चिनिने अशोक लेल्याण्डका सवारी साधनहरू आधिकारिक रूपमा वितरण गर्दै आइरहेको छ ।