काठमाडौं । धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरसम्बन्धी अनुसन्धानलाई अगाडि बढाउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धितोपत्र बजारसँग सम्बन्धित ५६ जना उच्चपदस्थ व्यक्ति तथा व्यवसायीहरूको सेयर रोक्का राख्न नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको छ । सीआईबीले यही जेठ ११ गते पत्रमार्फत बोर्डसमक्ष सम्बन्धित व्यक्तिहरूको नाममा रहेको सेयर कारोबार रोक्का राख्नुका साथै उनीहरूको विस्तृत लगानी विवरण, सेयर स्वामित्व तथा लगानी संरचनासम्बन्धी जानकारी उपलब्ध गराउन आग्रह गरेको हो ।
अनुसन्धान दायरामा रहेको मुद्दा नेपाल धितोपत्र बोर्डकै जाहेरीका आधारमा दर्ता भएको बताइएको छ । उक्त मुद्दामा नेपाल सरकार वादी रहेको छ भने दीपक भट्टसहितका व्यक्तिहरू प्रतिवादी रहेका छन् । सोही प्रकरणको अनुसन्धानलाई थप प्रभावकारी बनाउने क्रममा सीआईबीले धितोपत्र बजारसँग सम्बन्धित विभिन्न कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा लगानी समितिमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण र लगानी संरचनामाथि अध्ययन थालेको जनाएको छ ।
सीआईबीको पत्रपछि सेयर कारोबार रोक्का गरिएका व्यक्तिहरूमध्ये हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाष कुमार झुनझुनवाला तथा लगानी समिति सदस्य मनिष कुमार रहेका छन् । यसैगरी नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रविना दाहाल र सुजल मल्ल पनि अनुसन्धानको दायरामा परेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सञ्चालक तथा लगानी समितिसम्बन्धी पदाधिकारीहरू डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योति अग्रवाल, नवराज मुडभरी, प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लगानी समिति सदस्यद्वय ज्योति प्रकाश पाण्डे र समिर खरेल समेत रोक्का गरिएको छ ।
यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक तथा लगानी समिति सदस्यहरू विवेककुमार शाह, लक्ष्मण ज्ञवाली, राजीवप्रसाद प्याकुरेल, आशीष ढकाल, सौरभ दुगड, सचिन आचार्य, प्रमिला केसी र दिगम्बर झा पनि अनुसन्धानमा तानिएका छन् ।
हिमालय सेक्युरिटीजका सञ्चालक सीताराम वाग्ले र आकांक्षा गुप्ता, हिमालयन क्यापसर्भका अध्यक्ष शिशिर गैरे तथा हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष कपिल कुमार दाहालसहित राजन प्रसाद अधिकारी, बिनु घिमिरे, नारायण कुमार अधिकारी, उत्सव प्रधानांग, सुभाष पौडेल, शालिनी संघई र प्रतिक जोशीको नाम पनि सीआईबीले पठाएको सूचीमा समावेश छ । यसैगरी क्रेष्ट माइक्रो इन्स्योरेन्सका विदुर पुरी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सकी कीर्तिका अग्रवाल र दिनेश सरियामाथि पनि अनुसन्धान अघि बढाइएको छ ।
धितोपत्र बजारसँग सम्बन्धित उच्च तहका पदाधिकारीहरूमाथि एकैपटक यति ठूलो स्तरमा अनुसन्धान अघि बढाइएपछि पुँजी बजारमा व्यापक चासो र तरङ्ग उत्पन्न भएको छ । सीआईबीले भने अनुसन्धान जारी रहेकाले आवश्यक कागजात, लगानी विवरण तथा सम्पत्ति संरचनाको अध्ययन भइरहेको जानकारी दिएको छ ।