काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवाले आगामी जेठ १५ देखि १७ गतेसम्म पर्यटकीय नगर चितवनको सौराहामा ‘इ–सेवा ह्याकाथन २०२६’ आयोजना गर्ने भएको छ । वन्यजन्तु तथा पर्यावरण संरक्षणका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विश्व वन्यजन्तु कोषसँगको सहकार्यमा इ–सेवाले उक्त ह्याकाथन आयोजना गर्न लागेको हो ।
विगत १७ वर्षदेखि सहज र सुरक्षित भुक्तानी प्रणालीको विकास, डिजिटल अर्थतन्त्रको विस्तार र वित्तीय समावेशीकरणलगायतका क्षेत्रमा काम गर्दै आएको इ–सेवाले आफ्नो नियमित सेवा सञ्चालनका अतिरिक्त नवप्रवर्तन, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यहरू गर्दै आएको छ । यसैअन्तर्गत नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ह्याकाथन आयोजना गर्न लागिएको इ–सेवाले जनाएको छ । ह्याकाथनमा देशैभरिबाट छनोट भएका २० टोलीका ६३ जना युवाहरूले प्रतिस्पर्धा गर्ने छन् ।
ह्याकाथनबारे जानकारी दिँदै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले युवाहरूमा समस्या समाधानमुखी सोच विकास गर्न, प्रविधिमैत्री समाधानहरू निर्माण गर्न र दिगो विकासमा योगदान दिन ह्याकाथन प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘इ–सेवा ह्याकाथनले ‘डिजिटल प्रणालीको विकास, साइबर सुरक्षा तथा वातावरणीय दिगोपनासम्बन्धी प्रभावकारी समाधानहरू निर्माण गर्न डेभलपर, डिजाइनर तथा इन्नोभेटरहरूलाई एउटै मञ्चमा ल्याउने छ,’ खड्काले भने । यस प्रकारका प्रयासहरूले युवाहरूमा नवप्रवर्तनात्मक सोच तथा सिर्जनशीलता बढाउनका साथै सुरक्षित फिनटेक इकोसिस्टम र पर्यावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास रहेको छ ।
ह्याकाथनका प्रतिस्पर्धीहरूले तत्काल प्रयोगमा ल्याउन सकिने फिनटेक डिजाइन र समाधानका प्रोटोटाइपहरू प्रस्तुत गर्ने छन् । जसले वातावरणीय र सामाजिक प्रभावमा योगदान दिने डिजिटल प्रणाली निर्माण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । ह्याकाथन अवधिभर सहभागी टोलीहरूलाई उत्कृष्ट समाधान निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले फिनटेक, साइबर सुरक्षा तथा सूचना प्रविधि क्षेत्रका लिडरहरूद्वारा प्रत्यक्ष मेन्टरसिप तथा विधागत मार्गदर्शन प्रदान गरिने छ । मेन्टरहरूको सहयोगमा सहभागीहरूले आफ्ना आइडियाहरूलाई थप परिष्कृत बनाउने अवसर पाउने छन् ।
तीन दिनसम्म चल्ने आवासीय प्रतियोगितामा उत्कृष्ट समाधान र प्रोटोटाइप प्रस्तुत गर्ने टोलीहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता प्रथम स्थान हासिल गर्ने टोलीले नगद तीन लाख, द्वितीय स्थान हासिल गर्ने टोलीले नगद दुई लाख र तृतीय स्थान हासिल गर्ने टोलीले नगद एक लाख पुरस्कार प्राप्त गर्ने इ–सेवाले जनाएको छ ।