काठमाडौं । एसियन–ओशिनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनले ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला गरेको छ ।
नेपाली सूचना प्रविधि क्षेत्रका नवप्रवर्तनकारी उत्पादन, सेवा तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित समाधानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ हुन लागेको हो । अवार्ड कार्यक्रममा नेपालको तर्फबाट डिजिटल अर्थतन्त्र तथा एआई क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेका कम्पनी, स्टार्टअप, सरकारी निकाय तथा अनुसन्धान संस्थाहरूले प्रतिस्पर्धा गर्न सक्नेछन् । यस वर्षको मुख्य थिम ‘नेपाली टेक उद्यमी अवसरः आफ्ना उत्पादन र सेवाहरूलाई विश्वव्यापी रूपमा प्रदर्शन गर्नुहोस् र एसोसियो डिजिटल एआई अवार्ड २०२६ प्राप्त गर्नुहोस्’ रहेको छ । एसोसियोका उपाध्यक्ष नवराज कुँवरले नेपाली प्रविधि उद्यमीहरूका लागि यो ऐतिहासिक अवसर भएको बताए । उनका अनुसार यस मञ्चले नेपाली उत्पादन तथा सेवाको गुणस्तर र विश्वसनीयतालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसैगरी, क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले सम्पूर्ण नेपाली प्रविधि कम्पनी, स्टार्टअप तथा सरोकारवालाहरूलाई संस्थागत प्रोफाइल दर्ता गरी सहभागिता जनाउन आग्रह गरे । क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले आवेदन तथा छनौट प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन महासंघले आवश्यक सहजीकरण गर्ने बताए ।
आयोजकका अनुसार एआईमार्फत विभिन्न क्षेत्रमा रूपान्तरण ल्याउने उत्कृष्ट परियोजनाहरूलाई आठ विधामा सम्मान गरिनेछ । अवार्डका लागि एसएमईएस, ठूला उद्योग, स्टार्टअप, सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्था, साथै गैर–नाफामूलक संस्थाहरू योग्य रहनेछन् । प्रस्तावित एआई समाधान कम्तीमा ‘पाइलट चरण’ मा कार्यान्वयन भएको हुनुपर्नेछ तथा विगत २४ महिनाभित्र स्पष्ट प्रभाव वा नतिजा देखाएको हुनुपर्ने प्रावधान राखिएको छ । एक आवेदकले एक विधामा मात्र आवेदन दिन सक्नेछन् । आवेदन जुन १५ सम्म दिन सकिनेछ ।