१ असार ०८२ देखि हरेक आइतबार आइरहेको यो नियमित स्तम्भ यसपटक विराटनगर बासबाट लेख्दै छु । पश्चिम नेपाल धनगढीका प्रख्यात वकिल साहब हुनुहुन्छ भोजराज भट्ट । विसं. २०३६ सालदेखि जम्काभेट भएर गाँसिएको मित्रता आज ०८३ साल ४७ वर्ष भनौं न पाँच दशक आधा शताब्दीसम्म यथावत् निरन्तरता रहनु आजको मितिको सामाजिक, राजनीतिक, आर्थिक पृष्ठभूमिमा एउटा मिराकल जस्तो पनि मनमा कुरो आउँछ । ओली, देउवा, प्रचण्ड, गगन, शेखर, माधव नेपाल आदि इत्यादि दुई सय चार सय जमातहरूका आजको मित्रता आज हात मिलाउने अँगालो हालेर गला मिलाइरहेको साथी भोलिपल्टै पिठ पछाडि छुरा घोप्न तयार भइरहेका पृष्ठभूमिमा भट्टजी र मेरो बीचको मित्रताले पाँच दशक पार गरेको साँच्चै एउटा आम उपयोगी पाठ्यक्रम बनेको म ठान्छु ।
भट्टजीको नेपाली कांग्रेस इतिहासमा एउटा जन्मजात हक पुग्छ भने मेरो कांग्रेसमा १४ वर्षको उमेरदेखि एक क्षण र एक निमेश पनि यता उति नभइ उत्सर्ग भावको समर्पण सङ्घर्षको ऐतिहासिक लिगेसी हुन्छ । उहाँको जन्मजात लिगेसी भनेको विसं. २०१६ सालको बीपी कोइराला क्याविनेटमा मन्त्री भएर नेपालकी प्रथम महिला मन्त्रीको इतिहास बनाउनु भएकी द्वारिका देवी ठकुरानी भट्टजीको सहोदर फुपु हुनुहुन्थ्यो । अर्का ०७ सालका क्रान्तिका पश्चिमाञ्चल एक कमान्डर ०१६ सालको बीपी क्याबिनेटमा वनमन्त्री भएर बीपीसँगै सुन्दरीजल जेल पुग्नु भएका शिवराज पन्त भट्ट सरका भानिजदाइ हुनुहुन्छ । उहाँ पश्चिम धनगढीका । म पूर्वाञ्चल भोजपुरको । पूर्व पश्चिम मित्रताको एउटा पाठ्यक्रम अभिलेख होस् भन्ने ध्येय राखेर सजगतापूर्वक हामी दुवैले मित्रता जोगाएका छौं । उहाँ काम विशेषले विराटनगर आइपुगेको एक साता बितिसकेपछि फोन गर्नुभयो— ‘सुवेदीजी विराटनगर आइपुगेको हप्तादिन भयो र अरू हप्तादिन रहनु पर्ने जस्तो छ, तपाइँ पनि एक हप्ता घुमघाम गर्न आउनुहोस् ।’
विराटनगर भन्नासाथ दुईटा स्मृति जहिले पनि मेरो सम्झनामा ताजा हुन आइपुग्छ । एउटा विमान अपहरणकर्ता (आतंककारी) दुर्गा सुवेदीलाई महेन्द्र चौकको भट्टराइ पत्रिका पसल अगाडि ‘ए दुर्गा ! तिमी यो प्लेन हाइज्याकको थोत्रो जकेटलाई कहिलेसम्म मागी खाने भाँडो बनाउँछौ ? त्यो भन्दा माथि उठेर राजनीति गर्ने कोशिस गर’ सल्लाह दिँदा कुट्न भनेर हात उठाएको र आफू भागेर त्यहाँदेखि अहिलेसम्म फर्केर नभेटेको । दोश्रो विराटनगरका गल्लीहरूमा पैदल हिँड्दै गर्दा रिक्सामा घरतिर लाग्दै गरेकी (विराटनगरको कोइराला निवास अहिले खण्डहर) बेला मलाई भेट्दा रिक्सामा बगलमा बसाएर निवास पुर्याइ तातो चिसो स्वागत सत्कार गर्ने गरेकी नोना कोइराला सम्झन्छु । नोना कोइरालाको गिरिजाकालमा कांग्रेसभित्र कति दबदबा हुकुमत चल्दथ्यो भन्ने कुरा यहाँ वर्णन गरेर साध्यै छैन ।
यी दुईटा स्मृति निर्णायक कारण हुन सक्छ, विराटनगर आइनपुगेको ४/५ वर्ष लामै समय भइसकेको थियो भट्टजीको फोन जानासाथ भोली पल्टै विराटनगर आइपुगेर यो स्तम्भ लेख्दा विराटनगर बास हुन पुग्यो ।
यतातिरका दिनहरूमा विराटनगरको बासमाथि उल्लिखित दुई स्मृति भन्दा अझ धेरै मृत्यु पर्यन्त बिर्सन नसक्ने खालको हुन पुगेको छ । सहिद क्याप्टेन यज्ञबहादुर थापा (विसं. २०३५ माघ १४ गते अदालतको आदेशबाट कमलाखोंच जङ्गलमाझ गोली ठोकेर मृत्युदण्ड) को नाम त दुई अक्षर नपढेकाले पनि सुनेकै हुन्छन् । जस्ता प्रकारले ०७ सालको परिवर्तनमा १९९७ सालका चार सहिदको निर्णायक हात छ, त्यस्तै प्रकारले ०४६ को बहुदल आउनुमा सहिद यज्ञबहादुर थापा सहादतको निर्णायक हात रहेको भन्ने अब त प्राइमरी स्कुलका पाठ्यक्रमसम्म पुगिसकेकै छ । सौभाग्यले नै भनौं यतातिरका दिनमा मेरो विराटनगर बास सहिद क्याप्टेन यज्ञबहादुरका सुपुत्र इतिहास, धर्म संस्कृति, पुरातन खोज तीन विषयका डिग्रीधारी आनन्द थापाजीको घरमा हुने गरेको छ । गिरिजा कोइरालाकी भाउजु नोना कोइराला र प्लेन अपहरणकर्ता आतंककारी ट्याग भन्दा सहिद पुत्र सँगको सङ्गत स्वाभाविक धेरै पवित्र हुने भइहाल्यो । यस भन्दा पनि अझ महत्वपूर्ण सहिद क्याप्टेनकी बुहारी ८७ वर्षीय प्रमिला थापाको जीवन सङ्घर्ष गाथाको साक्षात्कार अध्ययन आत्मसात गर्न पाउनु । ०३५ सालमा सहिद क्याप्टेनको सहादतपछि क्याप्टेन साहबका चार गुँडका ठूलो परिवारको पालन पोषण व्यवस्थापन गरेर सबै हन्डर पार लगाउनु सानो चानचुने अध्याय थिएन, होइन । नैतिक शिक्षा पाठ्यक्रमबाट नहटाइएको विसं. २०२८ साल अघिको धरान धनकुटाबाट आईए परिक्षा दिन काठमाडाँै पुग्नु पर्ने समयकी आईए पास शिक्षित भने पछि अहिले ८७ वर्षमा आइपुग्दा सम्म संसारका कुनै पनि विश्वविद्यालयका पीएचडीहरूको भन्दा धेरै उच्चकोटीको अन्तर्य चेतना जागरण नेपाली नारी जागरण इतिहासकी एक कालजयी (सहिद बुहारी) विदुषी नारी पाठ्यक्रम बनिसकेको छ । अभिलेखीकरण हुनमात्र बाँकी छ । मेरो पुस्तक ‘सहिद क्याप्टेन यज्ञबहादुर थापा’ विसं. २०७७ मा संक्षिप्त पाठ्यक्रम अभिलेख भइसकेको भए पनि प्रमिला थापाको सामाजिक राजनीतिक जागरणमा पुगेको योगदानको समग्र मूल्यांकन हुन एउटा छुट्टै पुस्तकको आवश्यकता हुन्छ ।
यसपटक सहिद बुहारी प्रमिला थापाको विराटनगर स्थित तीनतले घरको छतमा उभिएर विराटनगर सहरलाई चारैतर्फ नियालेर अनुगमन गर्दा जुन सुखदायी भावना मनमा फक्रिन पुग्यो त्यसको संक्षिप्त शब्दचित्र पछि प्रतिपाद्य विषय ‘यो चालू ०७२ को संविधानको अन्त्येष्टी कहिले ? भन्ने विराटनगरको प्रश्न’ मा आइपुग्छु । विराटनगर सहरका आम जनका छतहरूमा कि त धार्मिक झण्डाहरू या सूर्य चन्द्र अंकित नेपालको राष्ट्रिय झण्डा फहराइरहेको देखिनु भेटिनु मेरा दृष्टिमा धेरै महत्वपूर्ण उज्ज्वल भविष्यको ग्यारेन्टी हो । कुनै पनि देश समाज, धार्मिक आचरण र राष्ट्रिय गौरव अँगालो मारेर अघि बढ्छ भने त्यसले विकास र प्रगतिमा सगरमाथाको चुचुरो चुम्ने पक्का हुन्छ । यस दृष्टिकोणले यस पटकको मेरो विराटनगर यात्रा एउटा नवजागरणले आलोकितसमेत हुन पुग्यो । यसका लागि अपरझट मलाई विराटनगर पु¥याउनु हुने माथि चिनारी आइसकेको सहृदयी अनन्य मित्र भोजराज भट्टजी प्रति मुरीमुरी आभार प्रकट गर्दछु ।
यसरी सहिद पुत्र आनन्द थापाजीको घरमा हप्ता दिनको वास तय भएपछि हामी दुवै (भट्टजी र म) को विराटनगर नामकरणको इतिहास विराट दरवारको उपलब्ध साहित्य बटुल्नुदेखि जननेता बीपी कोइरालाको निवास खण्डहरमा रूपान्तरण भएर गिरिजा लिगेसीको देउवा कांग्रेसका एआई उत्तराधिकारीहरू पूर्णबहादुर खड्का, गगन थापा, शेखर कोइराला, कृष्ण सिटौला आदि इत्यादिका गुट गिरिहलाई जिस्काइरहेको बडो नमज्जाले पिरोलिएर टोलाइ रहियो । भट्टजीले आम भेट हुने विराटनगरवासी समक्ष भन्न थाल्नु भयो— ‘मैले विराटनगरमा सबैभन्दा सुकुम्बासी बीपी कोइरालालाई पाएँ ।’ भट्टजीको साहित्य लेखनको हिसाब किताब आफ्नै किसिमको छ । उहाँको एउटा पुस्तकलाई मदन पुरस्कार गुठीका संस्थापक कमलमणि दीक्षितले भने— ‘शुद्धा शुद्धि मिलाएर ल्याउनुहोस् मदन पुरस्कार दिन्छु ।’ शुद्धा शुद्धिको मापदण्ड थाहा पाएपछि भट्टजीलाई जनक सभाका अष्टावक्रले देखेका ‘सार्की सभा’ को सम्झना आएर मदन पुरस्कारतर्फ फर्कनु भएन । यस अर्थमा भट्टजीले सबै भन्दा सुकुम्बासी बीपीलाई भेटेको टिप्पणीको खास महत्व राख्छ ।
कुरै कुरामा धरानका गिरिजा लिगेसीबाट आजित पुराना कांग्रेसी मित्रहरूले ‘सहिद क्याप्टेन यज्ञबहादुर थापा’ पुस्तकमा एक चर्चा र भट्टजीलाई प्रमुख अतिथी बनाएर मलाई अभिनन्दन जस्तो पनि कार्यक्रम राख्नु भयो । त्यसमा मुख्य भूमिका मैले चिन्दा आनन्दजीका लङ्गौटीया यारका रूपमा जानकारी भएको र धरानको बौद्धिक समाजका एक चर्चित व्यक्तित्व भवानी ढकालको थियो । सुजाताको फेर समाएर कांग्रेस सत्ताको लुटतन्त्र कालखण्डमा उधुम मचाउने गरेका प्राधिकार कांग्रेसहरू सहिदपुत्रका अगाडि मुख देखाउन सक्ने अवस्थामा थिएनन् । निम्तो पाएर पनि तिनीहरू (गिरिराज आचार्य, आनन्द आचार्य आदि इत्यादि) आएनन् । तथापी जमघट राम्रै भएको थियो । भूतपूर्व क्याम्पस चिफहरू, वर्तमान पूर्व प्राडाहरू, उपभोक्ता समाजका अभियन्ताहरू, शिक्षकहरू, पत्रकारहरू चित्तबुझ्दो जमघट भएकोमा हाम्रो तर्फबाट धन्यवाद भयो नै ।
त्यो कार्यक्रम लगायत एक हप्ताको धरान विराटनगर सङ्गतबाट आम रूपमा दुईटा प्रश्न ज्वलन्त रूपमा भेटियो । पहिलो प्रश्न हुन्थ्यो— ‘०७२ को संविधान गत भदौको जेनजी नवजागरण आन्दोलनबाट प्राणान्त भइसकेको हो, अन्त्येष्टि दाहसंस्कार चाहिं कहिले होला ?’ त्यसमा भट्टजीको आफ्नै शैलीको उत्तर हुन्थ्यो । मैले भने यसै स्तम्भको गत अंकमा उठाएको तथ्य उजागर ‘स्वर्णिमको बजेट बालेन पुरिने खाल्डो’ को जगमै टेकेर उत्तर दिने कोशिस गरेँ— ‘बेलायती उपनिवेश इस्ट इन्डियाको ठाउँ अक्षरस बहुराष्ट्रिय कम्पनीले लिएको छ । बहुराष्ट्रिय कम्पनी निर्देशित डा. रामशरण महतको खुला अर्थतन्त्र बजार प्रतिस्पर्धा नीतिले सेटिङको उत्पादन वितरण महँगी अनियन्त्रित बढेर थेग्न नसकेर कांग्रेस, एमाले, माओवादीलगायतका दलहरू लखेटिए । त्यही बहुराष्ट्रिय कम्पनी निर्देशित स्वर्णिम वाग्लेको खुला अर्थतन्त्र निजी क्षेत्र प्रमोट बजेटले थेग्नै नसक्ने करको भार बढाएर बालेन बढारिने सम्भावना देखिन्छ । बालेन बढारिँदा मृत संविधानको अन्त्येष्टि भएर नयाँ संविधान (व्यवस्था) आउँछ कि ०७२ कै संविधान कुहेर, गन्हाएर रोग फैलाउन थालेर कोरोना भन्दा पनि खतरनाक थप क्यान्सरको सामना गर्नु पर्ने हुन्छ ? अहिले नै यसै नभनि हालौँ ।’
मेरो यस उत्तरको आम सकारात्मक पक्ष अर्थतन्त्रको यस्तो भाष्य पनि छर्लङ्ग बुझ्न सक्ने आम नवजागरण पाइयो । धरान विराटनगरको यो आम जागरणले सिराहाको लाहानदेखि उता काँकडभिट्टा सम्मका पहाड तराइ जागरणलाई प्रतिनिधित्व गर्छ र बालेन सरकार टिक्नु नटिक्नु भन्दा पनि धरान विराटनगरको मुख्य प्रश्न ‘०७२ को संविधान कहिल्यै अन्त्येष्टि हुन्छ ?’ भन्ने प्रश्नमै ज्यादा केन्द्रीत रहेको भेटियो । मृत संविधान बोक्नु हुन्न भन्ने धरान विराटनगरको मात्र सर्वसम्मत नभएर पूरा राष्ट्रिय जनमत नै त्यतै तिर लक्षित र आतुर छ । अस्तु ।