मोरङ । विराटनगरको ऐतिहासिक, प्राज्ञिक तथा सांस्कृतिक गरिमालाई प्रवद्र्धनका लागि एकदिने ‘हिमालयन रोड किताब मेला २०८३’ आइतबार हुँदैछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिगो विकास इन्स्टिच्युट, ग्रिनसिटी भोलुन्टियर र नर्थसाउथ कलेक्टिभ्सले मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।
विराटनगरको हिमालय रोडमा आयोजना हुने एकदिने पुस्तक मेला पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै पाठक र लेखकलाई जोडने उद्देश्यसहित आयोजना गर्न लागिएको दिगो विकासका अभिषेक श्रेष्ठले जानकारी दिए । मेलाले बौद्धिक विमर्शको वातावरण सृजना, समाजमा ज्ञानको पहुँचलाई सहज बनाउँदै नयाँ पुस्तामा अध्ययनप्रतिको रुचि र रचनात्मक चिन्तनको विकास गराउन यसले सहयोग पुर्याउने कलेक्टिभ्सकी नितु सेनको भनाइ थियो ।
मेलामा नेपाली, अङ्ग्रेजीलगायत विभिन्न भाषाका पुस्तक प्रदर्शनी, साहित्य कुनाअन्तर्गत पाठकलाई बसेर पढ्ने र साहित्यिक वातावरण रहने ग्रीनसिटीकी कीर्तिमण्डलले जानकारी दिए ।
मेलमा साहियकारहरू खेमराज नेपाली, निर्मला कोइराला र कर्ण सञ्जयले ‘विराटनगरमा साहित्यः विगतदेखि वर्तमानसम्म’ विषयमा, मनु मन्जिल, दिनेश श्रेष्ठ र सगुना साहले नेपाली वाङ्मय र विराटनगरका सम्बन्धबारे आफ्नो धारणा प्रस्तुत गर्नेछन् । यसैगरी मेलमा कविता वाचन, सांस्कृतिक कार्यक्रम, नृत्य र कलाका विविध स्वरुपको विषयमा प्रस्तुतिसमेत रहेका आयोजकले जनाएको छ ।