काठमाडौं । आगामी असोज १ गतेदेखि ‘नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घ र नेपाल जग्गा तथा आवास विकास सङ्घको संयुक्त आयोजनामा आगामी असोज १ गतेदेखि ४ गतेसम्म ‘नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी’ हुन लागेको हो ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका महासचिव रोशन भोयधोले ‘दिगोपनाका लागि हरियाली’ भन्ने मूल नाराका साथ प्रदर्शनी आयोजना गरिने जानकारी दिए । साथै प्रर्दशनीको तयारी समेत सुरु गरिएको उनले बताए । उनका अनुसार प्रदर्शनीको व्यवस्थापन सिआ इभेन्ट एसोसिएट्स प्रालिले गर्ने भएको छ । उक्त प्रदर्शनीले सुरक्षित, व्यवस्थित र किफायती आवास विकासमा सहयोग पुग्ने जनाईएको छ । घरजग्गा व्यवसायी र उपभोक्तालाई एकै ठाउँमा भेला गराई नयाँ प्रविधि, उत्पादन र बजारको वास्तविक अवस्थाबारे जानकारी गराउनु मेलाको मुख्य उद्देश्य रहेको छ ।
प्रदर्शनीमा उत्पादन तथा सेवाका एक सयभन्दा बढी स्टल रहने, भवन, संयुक्त आवास र जग्गा विकासका ठूला आयोजना, फलाम, स्टिल, सिमेन्ट, इँटालगायत निर्माण समाग्री, विद्युतीय सामान, आधुनिक फर्निचर, पाइप तथा फिटिङ्स, सेनेटरी वेयर्स, पेन्ट्स, सेरामिक, सिसा, टायल, घर सजावटका सामग्री, नवीकरणीय ऊर्जा, बैंक, बिमा कम्पनीलगायतको सहभागीता रहने छ । सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले वर्तमान समयमा घरजग्गा व्यवसायमा देखिएको शिथिलताका बीच हुन लागेको प्रदर्शनीले नेपालको ‘रियल स्टेट’ क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने बताए । उपभोक्ताले आफ्नो बजेट र रोजाई अनुसारको घर वा जग्गाको उचित मूल्यमा छनोट गर्न सक्ने उनको भनाई छ ।