काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार २० अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति असोज २० गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको २० अर्ब रुपैयाँको रहेको छ । सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुुस २१ गते तोकिएको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि वि.सं. २०७७ चैत १४ गते तोकिएको छ ।
यसअघि यही असोज १२ गते पनि राष्ट्र बैंकले तीन अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको जारी बैंकले जनाएको छ । यसैगरी राष्ट्र बैंकले आगामी मंगलबार सात वर्षे अवधिको विकास ऋणपत्र २०८४ ‘घ’ बिक्री गर्ने भएको छ । जारी मिति २०७७ असोज २१ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति २०८४ असोज २१ गते तोकिएको छ ।