काठमाडौं ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।
गत चैत्रदेखि एकल महिला र अति अशक्त अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौती भएको पाइएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले त्यसलाई निरन्तरता दिनेगरी तत्काल व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो ।
‘आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत हालसम्म दिइँदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकाले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुने व्यवस्था’ मिलाउन सो मन्त्रालयलाई पत्राचार गरिएको पत्रमा उल्लेख गरिएको छ ।
गत चैत्रदेखि एकल र अति अशक्त अपाङ्गता भएका व्यक्ति/वर्गको सामाजिक सुरक्षा भत्ता कटौती भएको भनी राष्ट्रिय अपाङ्ग महासंघ नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा निवेदन दिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको हो । यसअघि गृह मन्त्रायलाई पनि सोही व्यहोराको पत्राचार गरिएको थियो ।
यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतका संवेदनशील वर्ग र समुदायले यसअघि पाउँदै आएका सामाजिक सुरक्षा भत्ता कटौती हुन नदिने बताए । उनले केही समययता ती भत्ताहरू रोकिएको भनिए पनि त्यसलाई निरन्तरता दिन आवश्यक पहलकदमी लिइएको पनि स्पष्ट पारे ।