महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई नेपाल सरकारले ५० हजार आर्थिक सहयोग गर्ने बताउँदै जिल्लालाई फुसको छानोमुक्त बनाइने बताए ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा जिल्लाका १ हजार २ सय ८९ विपन्न परिवारले अनुदान रकम पाउने सांसद राईको भनाइ छ । सांसद राईको संयोजकत्वमा जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले ८ वटै स्थानीय तहका वडाहरुमा अनुदान पाउने घरधूरीको संख्या निर्धारण गरेको छ ।
बैठकको निर्णयअनुसार पहिलो चरणको यस कार्यक्रमअन्तर्गत थुलुङ दूधकोशी गाउँपालिकामा सबैभन्दा बढी ३ सय ४७ र लिखुपिके गाउँपालिकामा सबैभन्दा कम ७५ घरधूरीले अनुदान प्राप्त गर्नेछन् । यसैगरी जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा १ सय ३०, माप्या दूधकोशी गाउँपालिकामा १ सय ४१, नेचा सल्यान गाउँपालिकामा २ सय २९, महाकुलुङ गाउँपालिकामा १ सय ३५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७७ र सोताङ गाउँपालिकामा १ सय ५५ घरधूरीले अनुदान प्राप्त गर्ने जनाइएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर २ मा भने यसअघि नै जस्तापाताको छानो लगाइसकेको छ । सांसद राईले गरिबीको रेखामुनि रहेका र छानो फेर्न नसक्ने विपन्न वर्गलाई यस कार्यक्रमले राहत मिल्ने बताए । सोलुखुम्बुको लागि बढी संख्यामा माग गरिएको भए पनि पहिलो चरणमा १ हजार २ सय ८९ घरधूरीका लागि बजेट प्राप्त भएको उनले जानकारी दिए । जसकोे कार्यान्वयन स्थानीय सरकारले नै गर्ने जनाइएको छ । त्यसैगरी जिल्ला समन्वय समिति, सोलुखुम्बुका प्रमुख वीर कुमार राईले खर, काठ वा ढुंगाको छानो जोखिमपूर्ण हुने भएकाले सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी हुने बताए ।
सोलुखुम्बुमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत सबै जस्तापाता हरियो घाँसे रंगको प्रयोग गरिने भएको छ । वातावरण मैत्री र प्रभावकारी रुपमा कार्यक्रम सञ्चालनका लागि हरियो (घाँसे) रंगको जस्तापाता प्रयोग गर्ने निर्णय गरेको सांसद राईको भनाइ छ । कार्यक्रममा सोलुखुम्बु प्रदेशसभा ‘क’का सांसद उत्तम कुमार बस्नेत, सोलुदूधकुण्ड नगरपालिकाका उप–मेयर कल्पना राई, थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराती, सोताङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर राई, नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलालगायतको उपस्थिति रहेको थियो ।