काठमाडौं ।
स्टक ब्रोकर एसोसिएसन अर्थात् धितोपत्र दलाल संघले विद्युतीय माध्यमबाट मात्र कारोबार गर्न आग्रह गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखी एसोसिएएसनले सेयर कारोबारको लागि विद्युतीय माध्यम मात्र प्रयोग गर्न आग्रह गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा समेत दिनानुदिन बढिरहेको र ब्रोकर कार्यालयमा ग्राहकको बढ्दो भीडका कारण ग्राहक स्वयं तथा कार्यालयमा कार्यरत कर्मचारीहरु समेत उच्च जोखिममा रहेका छन् । यो अवस्थामा कतिपय कम्पनीहरुमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण समेत देखिसकेको छ ।
यो अवस्थामा भौतिक उपस्थितिविना नै धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि खाता खोल्न, कारोबार गर्न, राफसाफ गर्न तथा कारोबारसँग सम्बन्धित सम्पूर्ण कार्य विद्युतीय माध्यमबाट नै गर्नसक्ने अवस्था रहेकाले सम्पूर्ण लगानीकर्ता तथा संघका सदस्यलाई विद्युतीय माध्यमबाट मात्र गर्न गराउनुहुन संघ हार्दिक आग्रह गर्दछ, संघले विज्ञप्तिमार्फत भनेको छ ।