नयाँ दिल्ली, पुस १३
भारतको एउटा ग्रामीण बैंक विगत १९ वर्षदेखि निरन्तर मुनाफामा रहेको पाइएको छ । त्रिपुरा ग्रामीण बैंक (टीजीबी)ले यस्तो सफलता पाएको नवभारत टाइम्सले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा बैंकले ४४ करोडको खुद मुनाफा आर्जन गरेको छ । योसँगै बैंकले आव २०१९/०२० मा कुल १० हजार करोड भारुको व्यापार पार गर्ने अनुमान गरिएको छ । उक्त बैंकका एक अधिकारीका अनुसार भारतको ४५ क्षेत्रीय ग्रामीण बैंक (आरआरबी)मा टीजीबीले १९ वर्षदेखि मुनाफा कमाउन सफल देखिएको हो । यसका अध्यक्ष महेन्द्र मोहन गोस्वामी हु । सन् २००१/००२ देखि नै मुनाफा लिन सफल भएको छ । यो भारतको ४५ आरआरबीका बीच आफ्नै किसिमको बैंक हो ।
बैंकले चालू आर्थिक वर्षको अप्रिल–सेप्टेम्बर अवधिमा ४४ करोड ४३ लाख मुनाफा आर्जन गरेको छ । गत आवको सोही समयमा बैंकले ११ करोड ३६ लाख मात्रै आर्जन गरेको थियो । भारतमा ५६ आरआरबी रहेकामा कतिपय बैंकहरु मर्जरमा गइसकेका छन् । गत वर्ष बैंकले १ अर्ब २५ करोडको खुद मुनाफा कमाएको थियो । सन् १९७६ मा अस्तित्वमा आएको यो बैंकको गत वर्षको मुनाफा अहिलेसम्मकै धेरै हो । बैंकले उक्त वर्ष ९० अर्ब भारुको कारोबार पनि पार गरेको थियो ।
हाल यो बैंकमा १२ वटा साना शाखासहित कुल १ सय ६० शाखाहरु रहेका छन् । बैंकको चुक्ता पुँजीमा ८.९४ प्रतिशतले वृद्धि भएको छ । त्यसयता ३० सेप्टेम्बरसम्म बैंकको लाभ ६६ अर्ब १७ करोड भारुसम्म पुगेको छ । पछिल्लो वर्षको सोही अवधिसम्म ६० अर्ब ७३ करोड भारु थियो । भारतमा बीजेपी शासनको २० महिनामा यो बैंकमा राष्ट्रियकृत बैंकको क्रेडिट डिपोजिट अनुपात १८ प्रतिशतले बढेर ६६ प्रतिशत पुगेको छ ।