धन बहादुर जप्रेल
कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी क्षेत्रसहितको लगानीमा व्यापारिक मल निर्माण योजना अघि सारेको छ । नगरपालिकाले महेन्द्रनगर बजारमा रहेको सब्जीमण्डी विस्थापित गरी सोही स्थानमा मल बनाउने तयारी गरेको हो । नगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा उक्त मल निर्माणका लागि केही दिनअघि स्थानीय व्यवसायीसँग छलफलसमेत गरेको छ ।
दीर्घकालीन आम्दानी र निजी क्षेत्रसँगको सहकार्यका लागि उक्त योजना अघि सारिएको नगरपालिकाका इन्जिनियर हिमालय ऐरले बताए । ७१ करोड ७५ लाख अनुमानित लागत रहेको उक्त मल निर्माणका लागि निजी क्षेत्रबाट ५० प्रतिशत लगानी आह्वान गरिएको उनले बताए । नगरपालिकाले नगर विकास कोषको ऋण लगानीमा मल निर्माण योजना अघि सारेको हो । करीब १ बिगाहा क्षेत्रफलमा निर्माण गरिने मलको डीपीआर तयार भइसकेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले यस क्षेत्रको आवश्यकतालाई बुझेर दीर्घकालीन सोचका साथ मलको परिकल्पना गरिएको बताए ।
नगरपालिकाले महेन्द्रनगरलाई आधुनिक शहरको रूपमा विकसित गर्न चाहेको उनको भनाइ छ । ‘हाम्रो शहरमा जनसंख्या बढ्दो छ, बजारीकरणको क्षेत्रफल सीमित छ,’ नगर प्रमुख विष्टले भने, ‘हामीले उपभोक्तालाई एउटै छानामुनिबाट अत्यधिक सेवा दिन खोजिरहेका छौं । यसले एकातिर उपभोक्तालाई सहज हुन्छ भने अर्कोतिर नगरपालिकाका र अन्य निजी लगानीकर्तालाई आर्थिक लाभ हुन्छ ।’ मलमा व्यापारिक प्रतिष्ठान, स्थानीय उत्पादन, फिल्म हल, रेस्टुराँलगायत रहनेछन् भने अन्य मनोरञ्जनात्मक गतिविधिसमेत सञ्चालन हुनेछ ।
पाँच तलाको रहने उक्त मल निर्माण शुरू गरिएको २ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । सब्जीमण्डीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने नगरपालिकाको योजना छ । त्यस्तै ऋण लगानीका लागि नगर विकाससँग प्रक्रिया शुरू गरी निजी क्षेत्रका स्थानीय लगानीकर्तासँग पुनः छलफल गरिने नगर प्रमुख विष्टले बताए । नगरपालिकाको उक्त योजनाले कञ्चनपुरका व्यवसायी उत्साहित भएका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघका वारिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले नगरपालिकाले ल्याएको योजना व्यावहारिक एवं समय सान्दर्भिक रहेको बताए । ‘यहाँको बजारलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘बजारमा उपभोक्ताको चाप बढिरहेकाले यस्तो व्यापारिक मलको अवधारणा ल्याउनु राम्रो हो ।’ तर यसमा सरकारी र निजी लगानी प्रस्ताव गरिएकाले स्पष्ट नीति तथा कार्यविधि ल्याउनुपर्नेमा उनले जोड दिए ।
साथै नगरपालिकाले लगानीको सुनिश्चितता गर्न सके मल निर्माणका लागि निजी क्षेत्र आकर्षित हुने धारणा उनले राखे । कञ्चनपुरका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेशदत्त जोशीले मल निर्माणका व्यवसायी लगानी गर्न तयार रहेको बताए । उनले लगानीकर्ता नाफा केन्द्रित हुने भएकाले मलबाट हुने लाभ वितरणबारे स्पष्ट गरिनुपर्ने बताए ।