काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरूलाई सहजरूपमा कर्जा प्रदान गर्ने बिषयमा सम्भौता गरेको छ । बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान)मा आवद्ध आजीवन सदस्यहरूलाई विशेष छुटसहित प्रोफेसनल कर्जा प्रदान गर्ने बिषयमा सम्झौता गरेको हो ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एसोसिएसको तर्फबाट एसोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरूलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ सेवाहरू सहजरूपमा प्रदान गरिने भएकोले संघका सदस्यहरूलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
अडानले लेखा व्यबसायसँग सम्बन्धित लेखापरीक्षक एवं लेखा व्यवसायीहरूको हितका लागि बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, गोष्ठी, सेमिनारहरू गर्दै आएको छ । बैंकले हाल ४२ जिल्लामा एक सय ३८ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
साथै, कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुन सुकै बैंकको एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जानकारी दिएको छ ।