काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति माग गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीको साधारण सेयरको विक्तीपश्चात् भने चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्षमा चार करोड ४४ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीको यस्तो नाफा तीन करोड ८१ लाख १४ हजार रुपैयाँ रहेको थियो ।