काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकले बिशेष साधारणसभा सम्पन्न गरेको छ । बैंकको बुुधबार केन्द्रीय कार्यालय परिसरमा सम्पन्न विशेष सभाले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट सामाजिक दूरी कायम गर्ने निर्देशनको समेत पालना गर्दै बैंकले भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो ।
सभाबाट सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अर्थात् सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयरबापत नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३० कित्ता सेयर दिने सेयर स्वाप अनुपातमा सिटी एक्सप्रेसलाई बैंकमा गाभ्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको बैंकले जानकारी दिएको छ । चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको सिटी एक्सप्रेसलाई गाभ्ने प्रक्रिया सम्पन्न भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ हुुने छ । यसअन्तर्गत प्रवद्र्धकहरूको सेयर स्वामित्व ६८ दशमलव ४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरू सेयर स्वामित्व ३१ दशमलव ५२ प्रतिशत हुनेछ ।
नेपाल इन्भेष्टमेण्टले हाल ८३ वटा शाखा, एक सय २५ वटा एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु-याइरहेको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंकले अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत प्राप्त गरिसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।