विराटनगर ।
म्याद सकिसकेका खाद्यान्नहरूमा फेरि नयाँ मिति हालेर बजार पठाउन सक्रिय रहेको विशाल ग्रुपलाई उन्मुक्ति दिन सरकार नै लागी परेको पाइएको छ । विशाल ग्रुपका सञ्चालक संलग्न भएका घटनामा अहिलेसम्म कारबाही हुने गरेको छैन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले १५ असोजमा विशाल कम्पनीको कलंकी र बाफलका दुई गोदाममा छापा मारेको थियो । उक्त दुई गोदाममा छापा मार्दा म्याद नाघेका सामग्रीलाई नयाँ मिति हाल्दै बजारमा पठाउने गरेको पाइएको थियो ।
विशाल ग्रुपले सञ्चालन गरेको आयान डिस्ट्रिब्यूटर्सको गोदामबाट ट्याङ पाउडर जुस मात्रै पाँच हजार सात सय कार्टुनमा नयाँ मिति राख्दै गरेको अवस्थामा फेला पारेको थियो । त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि प्रिंगल्स आलु चिप्स सात सय कार्टुन, ओरियो बिस्कुट ७९ कार्टुन, बर्नभिटा हर्लिक्स पाँच कार्टुनमा नयाँ मिति राख्दै गरेको अवस्थामा फेला पारेको थियो ।
पुष्पादेवी अग्रवाल सञ्चालक रहेको उक्त आयान विशाल ग्रुपको भगिनी समूह हो । विराटनगरमा मुख्य कार्यालय रहेको विशाल ग्रुपले यसरी मिति थपेर सामान काठमाडौंमा चलेको बिग मार्टमा बेचिरहेको छ । विशाल ग्रुपका मुख्य सञ्चालकहरू जगदीश अग्रवाल र तुलसीराम अग्रवाल दुवै दाजुभाइले यस्तो काम पछिल्लो दुई वर्षभन्दा बढी समयदेखि गरिरहेको व्यवसायीस्रोतकै दाबी छ । गैरकानुनी काममा संलग्न रहेको अग्रवाल दाजुभाइको विशाल ग्रुपलाई रंगेहात पक्राउ गर्दा समेत सरकारले कुनै कारबाही अगाडि बढाएको छैन । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने विशाल ग्रुपलाई मन्त्रीदेखि सरकार उच्च पदस्थ कर्मचारीसम्मको आर्शीवाद छ ।
गत जेठ १५ गतेभन्दा करिब एक महिनाअगाडि विराटनगर भन्सार र वीरगञ्ज भन्सारमा विशाल ग्रुपले नेपाल आयात गरेको चकलेट पूर्वअर्थमन्त्री युवराज खतिवडाको सेटिङमा चकलेट तथा क्याटभरीको भन्सार दरबन्दी घटाउने सहमति स्वरूप एक महिनासम्म भन्सारका गोदाममा नै थन्किएको थियो । विशाल ग्रुपका पहिलो नम्बरका व्यवसायी खेलाडी तुलसीराम अग्रवाल र तत्कालीन अर्थमन्त्री खतिवडाका बीच निकै घनिष्टता रहेको छ ।