काठमाडौं ।
देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड –१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको सङख्या ४० हजार ७ सय ७८ रहेको जानकारी दिए ।
जम्मा सङ्क्रमित १ लाख ३६ हजार ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५ सय १ पुगेको छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने दर ६९ दशमलव ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख ९ सय १८ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या चार हजार चार सय ७० छ । संक्रमितमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९ सय २७ होम आइसोलेसनमा रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय संक्रमित क्रमशः १ मा एक हजार पाँच सय ३४, २ मा ७ सय १३, वाग्मतीमा सात हजार ८ सय ५५, गण्डकीमा ९ सय ९०, लुम्बिनीमा एक हजार ८ सय २०, कर्णालीमा ४ सय ५३ र सुदूरपश्चिममा ५ सय ३६ छन् । त्यस्तै होम आइसोलेस नमा प्रदेश १ मा चार हजार २ सय ३२, २ मा दुई ७ सय ३५, वाग्मतीमा १७ हजार २ सय २५ , गण्डकीमा ९ सय २५, लुम्बिनीमा ४ सय २०, कर्णालीमा ८ सय ७ र सुदूरपश्चिममा ५ सय ८३ छन् । देशभर २ सय ८२ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रदेश १ मा ३०, २ मा १३, वाग्मतीमा १ सय ५३, गण्डकीमा २०, लुम्बिनीमा ५१, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना छन् । त्यसैगरी ६३ सङक्रमित भेन्टिलेटरमा छन् ।
सोमबारसम्म बाह्र जिल्लामा संक्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके, सुर्खेत, रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको संख्या शून्य रहेका जिल्लामा मुस्ताङ हो । पछिल्लो समय थपिएका सङक्रमितमध्ये दुई हजार ३ सय ८८ जना काठमाडौँ उपत्यकाका छन्, जसमध्ये काठमाडौँका दुई हजार ८, ललितपुरका २ सय ८१ र भक्तपुरका ९९ जना छन् ।
थप १८ को मृत्यु : पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।