धादिङ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनीघाट रोराङ गाउँपालिका ४ मोहोरियाबाट मलेखु बजारतर्फ आउँदै गरेको ग २ च ७७८४ नं.को बोलेरो जीप वडा नं. ४ को छिबीगाउँमा दुर्घटना हुँदा १० जना घाइते भएको वडा अध्यक्ष गुणराज उप्रेतीले जानकारी दिए ।
वडाअध्यक्ष उप्रेतीका अनुसार बोलेरो जीप ग्रामीण सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा बेनीघाट रोराङ ४ का वर्षीय २८ वर्षीय रमेश घले, २५ वर्षीय गरिमा घले, ७ वर्षीय बालक कुशल घले रहेका छन् ।
उनीहरूलाई राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचार गरी थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको छ । त्यस्तै अन्य सात जनाको भने मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्ता प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । दुर्घटनास्थल पृथ्वी राजमार्गको मलेखु बजारबाट ८ किलोमिटर टाढा पर्दछ ।