धनुषा ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट कात्तिक २ गते एपीएफ टोलीले करिब १६ लाख २३ हजार रुपैयाँबराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षीय रामचन्द्र साह रहेको एपीएफले जानकारी दिएको छ ।
बा.१०च ३५६८ नम्बरको भ्यानमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा गाडीको सिटमुनी लुकाइराखेको अवस्थामा उक्त मूल्य बराबरको दुुई सय ग्राम सुन फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त भ्यान समेत बरामद गरेको छ ।
पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ । बरामद भ्यानको भन्सार दाखिला मूल्य १५ लाख रुपैयाँ रहेको एपीएफले जानकारी दिएको छ । यसैगरी एपीएफले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट कात्तिक २ गते एपीएफ टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथै उक्त भारतीय रुपैयाँ ल्याउँदै गरेका व्यक्तिले बोेकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा उल्लिखित भारतीय रुपैयाँ फेला परेकोे हो । बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको एपीएफले जानकारी दिएको छ ।