सुबास बस्नेत,
दोलखा, पुस १४
भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै दोलखामा एक सय ४४ विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको छ । भूकम्पले पूर्णरूपमा ध्वस्त भएका तीन सय ६५ वटा विद्यालयमध्ये पुस मसान्तसम्म दुई सय २१ वटा विद्यालय भवनको निर्माण सम्पन्न भएको छ भने एक सय ४४ वटा विद्यालय भवन निर्माणधीन अवस्थामा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण दोलखाका प्रमुख गणेश अर्याल र शिक्षा प्रमुख देवकुमार बरालले चालू आर्थिक वर्षमा सबै विद्यालयको पुनर्निर्माणको काम सक्ने जानकारी दिए । जिल्लामा भूकम्प जानुअघि तीन सय ६५ वटा सामुदायिक रहेकोमा भूकम्पपछि १७ वटा सामुदायिक विद्यालय एकीकरण भएर तीन सय चार सामुदायिक विद्यालय रहेका छन् ।
प्राधिकरण स्थपना दिवसको अवसर पारेर जिल्लाका नौ स्थानीय तहका २४ वटा वडाहरूलाई सम्मान समेत गरिएको छ । भूकम्पपीडित लाभग्राहीहरूमध्ये निजी आवास पुनर्निर्माणअन्तर्गत ९० प्रतिशतभन्दा बढीलाई तेस्रो किस्ता भुक्तानी गराइ उत्कृष्ठ नजिता प्राप्त गरेको आधारमा वडाहरू सम्मानित भएका हुन् ।