काठमाडौं ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औँ वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट हुने भएको छ । बैंकको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र केन्द्रीय उपसमितिको शुक्रवार सम्पन्न संयुक्त बैठकले वार्षिक साधारणसभा पहिलो पटक भुर्चअल माध्यमबाट प्रदेशगतरुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।
सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) निर्देशिका– २०७६ अनुसार साधारणसभाको मिति र कार्यसूची तय गर्ने निर्णयमा उपसमिति समेत आमन्त्रण गर्नुपर्ने प्रावधान अनुसार बैंकको केन्द्रीय उपसमितिका सदस्यहरुलाई आमन्त्रण गरिएको उप्रेतीले बताए । कोरोना (कोभिड–१९) संकटका कारण भौतिक उपस्थितिमा साधारणसभा गर्न संभव नभएको र नियामक निकायले समेत यो वर्षको साधारणसभा विद्युतीय माध्यममार्फत गर्न सकिने निर्देशन जारी गरेकोले प्रविधिको प्रयोग गरी सम्पन्न गर्ने निर्णय गरिएको अध्यक्ष के.बी. उप्रेतीले जानकारी दिए । बैठकले आगामी मंसिर २२ गतेदेखि २९ गतेसम्म एकाइ साधारणसभा र पुस ३ गते मुख्य साधारणसभा सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैंकको १७औँ वार्षिक साधारणसभाअन्तर्गत प्रदेश नं. १ को एकाइसभा मंसिर २३ गते, प्रदेश नं. २ को मंसिर २४ गते, वाग्मती प्रदेशको मंसिर २५ गते, लुम्बिनी प्रदेशको २६ गते, कर्णाली प्रदेशको २७ गते, सुदूरपश्चिम प्रदेशको २८ गते र गण्डकी प्रदेशको एकाइ सभा मंसिर २९ गते सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।
एकाइ सभाबाट चुनिने प्रतिनिधिहरुको सहभागितामा मुख्य साधारणसभा पुस ३ गतेका लागि तय गरिएको छ । सहकारी ऐन, नियमावली र सहकारी विभागले जारी गरेरको साधारणसभा सञ्चालनसम्बन्धी निर्देशिका एवं बैंकको स्वीकृत विनियमावलीका आधारमा एकाइ साधारणसभा गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिएका छन् । साधारणसभामा १२ हजार दुई सय ८३ सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।
सदस्यहरुले प्रस्ताव पेश गर्नसक्ने, नियमकीय निर्देशन जानकारी गराउनुपर्ने, संस्थागत प्रतिनिधिको जानकारी सदस्यलाई दिनुपर्ने र विविध शीर्षक राख्न नहुनेजस्ता कार्यविधिका मापदण्ड पालना गर्दै यो वर्षको साधारणसभा गर्न लागिएको गुरागाईंले जानकारी दिए । कोभिडको कारण केही समस्या भए पनि साधारणसभाको प्रतिवेदन बैंकको वेबसाइटमा हेर्न र डाउनलोड गर्न सकिने साथै तिहारअगाडि नै सदस्यमाझ वितरण गर्ने प्रबन्ध मिलाउन व्यवस्थापनले काम गरिरहेको समेत प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले बताए ।