काठमाडौं ।
लक्ष्मी बैंकले एसियाली विकास बैंक (एडीबी) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंक (टीएससीएफपी) को रुपमा सम्मान प्राप्त गरेको छ । टीएससीएफपीसँग २०१९ जुलाई १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेबापत हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
बैंकले हाल ४८ जिल्लामा एक सय २१ वटा शाखा, सातवटा एक्स्टेन्सन काउण्टर, चारवटा हस्पिटल सेवा काउन्टर, एक सय ५१ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरुमार्फत वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक अर्ब ४८ करोड ४७ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५९ करोड ७४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ८१ करोड २५ लाख ६० हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा एक खर्ब ८६ करोड ४३ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ४३ करोड ९८ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब ४१ करोड २० लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा तीन दशमलव ९४ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब १२ करोड ७२ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले ८० अर्ब ३२ करोड ४६ लाख ३३ हजार रुपैयाँ निक्षेप संंकलन गरी ७४ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब १६ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १९ प्रतिशत रहेको थियो ।