काठमाडौँ ।
एनएमबी बैंकले २४सै घण्टा र सातै दिन प्रदान गरिने एनएमबी सापटी योजना सुरु गरेको छ । बैंकका अनुसार एनएमबी सापटी, एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरू गरेको छ, जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेपबिना डिजिटलरुपमै गर्न सकिनेछ । यो नेपालमै पहिलो पटक’ २४सै घण्टा र सातै दिन पूर्ण स्वचालितरूपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नधाइकनै मोबाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ, बैंकले भनेको छ ।
एनएमबी सापटी ग्राहकहरू को व्यक्तिगत र आपत्कालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितोबिनाको व्यक्तिगत कर्जा हो । एनएमबीमा तलब खाता भएका तलबी कर्मचारीहरूलाई एक लाख रुपैयाँसम्म २४सै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइनेछ । ग्राहकहरूले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सक्नेछन् ।
एनएबी सापटी डिजिटल बैंकिङमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग हो, जसले ग्राहकहरूलाई वित्तीय सेवाहरू सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिवृद्धि गर्दछ । शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको सुरुदेखि अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पु-याउँदछ ।
एनएमबी सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्करहित माध्यमको रूपमा प्रस्तुत गर्दछ । एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले आफ्नो धारणा प्रस्तुत गरे ।